इजरायली हवाई आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चिन्ता, क्षेत्रीय युद्धबाट जोगिन संयमता अपनाउन आग्रह

काठमाडाैं, ३० जेष्ठ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलद्वारा इरानमाथि गरिएको हवाई आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै मध्यपूर्वमा कुनै पनि सैन्य तनावको कडा निन्दा गरेका छन्।
गुटेरेसका उपप्रवक्ता फारहान हकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको आणविक स्थापनामाथि इजरायली आक्रमण हुनु र त्यसैबेलामा इरान र अमेरिकाबीच इरानको आणविक कार्यक्रमको अवस्थालाई लिएर वार्ता भइरहेका बेला यस्तो आक्रमण हुनु महासचिवलाई विशेष चिन्ताको विषय बनेको छ।”
महासचिव गुटेरेसले राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूलाई राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानूनअनुसार कार्य गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै दुवै पक्षलाई अत्यधिक संयमता अपनाउन आग्रह गरेका छन्। “यस क्षेत्रले थप द्वन्द्व सहन सक्ने अवस्था छैन,” विज्ञप्तिमा भनिएको छ।
यसैबीच इजरायली रक्षा मन्त्री इस्राइल काट्जले शुक्रबार वक्तव्य जारी गर्दै इजरायली वायुसेनाले इरानमाथि “पूर्वधारणा आधारित हवाई आक्रमण” (preemptive strike) गरेको पुष्टि गरेका छन्। इजरायली रक्षा सेनाले पनि आधिकारिक वक्तव्यमा पहिलो चरणको आक्रमण पूरा भएको जनाउँदै दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरिएको जनाएको छ, जसमा विभिन्न आणविक केन्द्रहरू पनि समावेश छन्।
इरानको सरकारी टेलिभिजन (IRIB) का अनुसार राजधानी तेहरानसहित नताञ्ज, खोंदाब र खोर्रमाबाद क्षेत्रमा विस्फोट भएका छन्। तेहरानस्थित एक आवासीय भवनमा महिलासहित बालबालिकाको मृत्यु भएको जानकारी पनि दिइएको छ।
उक्त घटनासँगै अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चासो बढेको छ। आणविक प्रतिष्ठानहरूलाई लक्षित आक्रमणले सम्भावित आणविक संकट निम्त्याउन सक्ने भन्दै विश्लेषकहरूले पनि चेतावनी दिएका छन्।