अर्थमन्त्री पौडेल आज संसद्मा बजेटमाथिको छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्दै

काठमाडाैं, १ असार । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आज प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि विस्तृत छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने भएका छन्।
संसद सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री पौडेलले उक्त प्रस्ताव पेश गरेपछि सांसदहरूले बजेटका विविध पक्षहरूमा आफ्ना विचार राख्ने प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। बजेटमाथिको बहसले आर्थिक नीतिहरू, योजना र कार्यक्रमहरूबारे सांसदहरूले धारणा राख्ने अवसर प्रदान गर्नेछ।
सरकारले जेठ १५ गते प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। सो बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, सामाजिक सुरक्षा र शिक्षा क्षेत्रमा प्राथमिकता दिइएको छ।
बजेट प्रस्तुत भएलगत्तै संसद्मा विभिन्न दलहरूले प्रतिक्रिया जनाउँदै आएका छन्। तर, संसद्मा अवरोधका कारण बजेटमाथिको औपचारिक छलफल सुरु हुन सकेको थिएन। प्रमुख विपक्षी दल माओवादी केन्द्रले अवरोध अन्त्य गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (आरपीपी)ले अवरोध जारी राखेका छन्।
यद्यपि, सभामुख देवराज घिमिरेले आइतबार आरएसपी र आरपीपीका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दै संसद्को मर्यादा कायम राखी छलफलमा सहभागी हुन आग्रह गरिसकेका छन् ।