नेपालको वैदेशिक व्यापारमा ऐतिहासिक सुधार: ११ महिनामै २ खर्ब ४७ अर्बको निर्यात, खानेतेलको योगदान सर्वाधिक

काठमाडाैं, ६ असार । चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ। २०८१ साउन महिनादेखि २०८२ जेठसम्मको ११ महिनाको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब ४७ अर्ब) रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। यो नेपालको अन्तर्राष्ट्रिय व्यापार इतिहासमै कुनै पनि आर्थिक वर्षमा नदेखिएको उच्च निर्यात वृद्धिदर हो। भन्सार विभागको तथ्यांकअनुसार पछिल्ला सात महिनादेखि निर्यातमा निरन्तर उच्च वृद्धि कायम छ, जसमध्ये पछिल्ला चार महिनामा मात्रै १ खर्ब २१ अर्ब रुपैयाँको निर्यात भएको छ।
पछिल्ला करिब साढे दुई वर्षदेखि आयात र निर्यात व्यापार लगातार घट्दै गएकोमा चालु वर्षको पछिल्लो सात महिनामा भने यसमा उल्लेखनीय सुधार आएको छ। विगतमा कुनै पनि आर्थिक वर्षमा वार्षिक २ खर्ब रुपैयाँसम्म मात्र निर्यात पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भएको २ खर्ब ३ करोड रुपैयाँ नै अहिलेसम्मको उच्च निर्यात थियो। तर, चालु वर्षको ११ महिनाको अवधिमा नै २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७ प्रतिशतले बढी हो। यो वृद्धिदर आर्थिक वर्ष २०३१/३२ यता आर्थिक वर्ष २०४०/४१ मा ५० प्रतिशत र त्यसपछिको आर्थिक वर्षमा ६० प्रतिशत पुगेको रेकर्डलाई पनि उछिनेको छ। गत साउनदेखि असोज महिनासम्म जम्मा ३८ अर्ब ३७ करोड रुपैयाँको निर्यात भएको थियो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.११ प्रतिशतले कम थियो। तर, त्यसयताको ८ महिनामा भने २ खर्ब १० अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ, र पछिल्लो चार महिना लगातार ३० अर्ब माथिको निर्यात कायम छ।
चालु आर्थिक वर्षमा चिया, धागो लगायतका धेरै मूल्य अभिवृद्धि हुने नेपाली उत्पादनहरूको निर्यात बढेको छ। कुकुर-बिरालोको खानाको निर्यात करिब ३६ प्रतिशतले बढेर ४ अर्ब रुपैयाँ बराबर पुगेको छ भने खयर कत्थाको निर्यात २१ प्रतिशतले बढेर २ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ। यद्यपि, यो उच्च निर्यात वृद्धिमा सबैभन्दा ठूलो हिस्सा खानेतेलको रहेको छ। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्यका अनुसार, २०५२ सालदेखि यता नेपालको जहिले पनि निर्यात बढेको हुन्छ, त्यतिबेला वनस्पति घ्यु-तेलको हिस्सा सर्वाधिक रहने गरेको छ। चालु वर्षमा अत्यधिक निर्यात बढ्नुमा प्रशोधित भटमासको तेलको हिस्सा धेरै छ। ११ महिनाको अवधिमा भएको २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यातमा ३८ प्रतिशत हिस्सा भटमासको तेलको छ। यो अवधिमा ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको प्रशोधित भटमासको तेल निर्यात भएको छ। जबकि अघिल्लो वर्ष यही अवधिमा ८७ करोड रुपैयाँ बराबरको मात्र प्रशोधित भटमासको तेल निर्यात भएको थियो।
भटमासको कच्चा तेल अर्जेन्टिना, ब्राजिल, इन्डोनेसिया, इराक, थाइल्यान्ड, युक्रेनलगायतका देशबाट आयात गरिन्छ र रिफाइन गरेर उपभोग्य तेल भारतमा निर्यात हुन्छ। २०८१ भदौमा भारतले खाने तेलको आयातमा लाग्ने भन्सार महसुल २० प्रतिशत विन्दुले बढाएको थियो। यसले अन्य राष्ट्रबाट भारतमा जाने तेल महँगो भए पनि नेपाल-भारतको वाणिज्य सन्धिअनुसार नेपालबाट भारत निर्यात हुने यस्तो तेललाई भन्साररहित सुविधा छ। यद्यपि, आयात गरिएको कच्चा पदार्थको हकमा कम्तीमा ३० प्रतिशत मूल्य अभिवृद्धि गर्नुपर्ने शर्त लागू हुन्छ। जेठ महिनादेखि भारतले यस्तो तेलमा १० प्रतिशत विन्दुले भन्सार घटाए पनि नेपाली उद्योगीहरूले १० प्रतिशतसम्मको भन्सारमा प्रतिस्पर्धा गर्न सकिने बताएका छन्। जेठको निर्यात तथ्यांकमा भन्सार घटेको प्रभाव भने देखिएको छैन। भटमाससँगै सूर्यमुखी तेलको निर्यात पनि उल्लेख्य बढेको छ। चालु वर्षको ११ महिनामा ११ अर्ब ३३ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल निर्यात भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा १६ करोड रुपैयाँ मात्र थियो। सूर्यमुखीको कच्चा तेल चीन, मलेसिया, स्पेन, भियतनाम, युक्रेनलगायतका देशबाट किनेर रिफाइन गरिएको उपभोग्य तेल भारतमा बेचिन्छ। यस वर्ष धागो निर्यात पनि बढेको छ। १० महिनाको अवधिमा ११ अर्ब ६२ करोडको धागो निर्यात भएको छ। तर, अघिल्लो आर्थिक वर्षमा नेपालबाट निर्माणजन्य सामग्रीको निर्यात अत्यधिक भएकोमा यो वर्ष भने यस्ता सामानको निर्यात निकै घटेको छ।
यस्ता छन् ११ महिनामा सबैभन्दा धेरै निर्यात हुने १५ वस्तु
धेरै निर्यात भएका वस्तु | गत वर्षको निर्यात | चालु वर्षको निर्यात | घटबढ |
भटमासको तेल प्रशोधित | ८८ अर्ब | ९३ अर्ब ५२ करोड | ९२ अर्ब ६४ करोड धेरै |
धागो | १० अर्ब ५० करोड | १३ अर्ब १ करोड | दुई अर्ब ५१ करोड धेरै |
सूर्यमुखीको प्रशोधित तेल | १६ करोड | ११ अर्ब ३४ करोड | ११ अर्ब १८ करोड धेरै |
ऊनी गलैंचा कार्पेट | नौ अर्ब ६९ करोड | नौ अर्ब ७८ करोड | नौ करोड धेरै |
फलामे पाता | १० अर्ब २६ करोड | नौ अर्ब १० करोड | एक अर्ब १६ करोड कम |
तयारी कपडा | ७ अर्ब ७२ करोड | ७ अर्ब २७ करोड | ४५ करोड कम |
फलफूलको जुस | ७ अर्ब ९३ करोड | ७ अर्ब २५ करोड | ६८ करोड कम |
अलैँची | ७ अर्ब ४६ करोड | ७ अर्ब १९ करोड | २७ करोड कम |
प्लाइउड | ६ अर्ब ६५ करोड | ६ अर्ब ६१ करोड | चार करोड कम |
जुटका बुनिएका कपडा | ४ अर्ब १३ करोड | ६ अर्ब ६६ करोड | एक अर्ब ५३ करोड बढी |
जमोठ कपडा | ४ अर्ब ३४ करोड | ४ अर्ब ६३ करोड | २८ करोड बढी |
चिया | ३ अर्ब १६ करोड | ४ अर्ब २० करोड | एक अर्ब ४ करोड बढी |
कुकुर वा बिरालोको खाना | २ अर्ब ९३ करोड | ३ अर्ब ९९ करोड | एक अर्ब ७ करोड बढी |
पिना | २ अर्ब ६६ करोड | ३ अर्ब २७ करोड | ६१ करोड बढी |
ऊनी,सुती,टेरीकटन बाहेकका कपडा | २ अर्ब ८८ करोड | २ अर्ब ७७ करोड | ४९ करोड बढी |
यो वर्ष आयातमा पनि सुधार देखिएको छ। चालु वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ। यो अघिल्लो वर्षको यसै समयको तुलनामा १३ प्रतिशतले बढी हो। आयात बढ्नुमा पनि प्रमुख हिस्सा खाने तेलको नै देखिएको छ। यो अवधिमा ९५ अर्ब ७२ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको छ, जबकि गत वर्ष यसै समयमा १३ अर्ब रुपैयाँ बराबरको मात्रै आयात भएको थियो।