बागमती प्रदेश सभामा आज बजेटमाथि छलफल सुरु हुँदै

काठमाडाैं, २० असार । सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेसँगै बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने भएको छ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार, आजको बैठकमा प्रस्तावित बजेटमाथि छलफल गरिनेछ। छलफलपश्चात् आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले उठेका प्रश्नहरूको जवाफ दिनुहुनेछ। त्यसपछि खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गर्ने समय निर्धारण गरिनेछ।
यसअघि, सत्तारुढ र प्रतिपक्षी दलबीचको विवादका कारण बजेट अधिवेशनका बैठकहरू पटकपटक अवरुद्ध हुँदै आएका थिए। तर, बिहीबार साँझ दलहरूबीच सहमति जुटेपछि प्रदेश सभाको बैठक सुचारु भएको थियो। सोही सत्रमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता शालिकराम जमकट्टेलले समसामयिक विषयमा सम्बोधन गर्नुभएको थियो।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ।