फेरी भेटियो रायो सागमा अत्यधिक विषादी, होसियार रहनुहोला

काठमाडौं, ७ साउन । हामीले हरेक दिन विहान बेलुका आफ्नो भान्सामा प्रयोग गर्ने तरकारी कत्तिको स्वस्थकर छ भनेर सायद कमै ख्याल गर्ने गर्छौ । यसैका कारण हामीले नसोचेको रोगका शिकार बन्नु परिरहेको छ ।
मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ ।
दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा रायो सागमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त रायो साग उपभोग अयोग्य रहेको जनाइएको छ ।
यसअघि २४ असारमा पनि भक्तपुरबाट बिक्रीका लागि ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो । त्यसपछि २६ असारमा काभ्रेबाट बिक्रीका लागि ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादी भेटिएको थियो ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।