Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

मितेरी पुलको पुनर्निर्माण सुरु, अस्थायी बेली पुल छिट्टै

मितेरी पुलको पुनर्निर्माण सुरु, अस्थायी बेली पुल छिट्टै

काठमाडाैं, ११ साउन । नेपाल–चीन उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। गत असार २४ गते लेंडेखोलामा आएको भीषण बाढीले १० मिटर चौडाइ र १०० मिटर लम्बाइको पुल पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो।

रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार, आइतवारदेखि चिनियाँ पक्षले पुनर्निर्माण कार्य सुरु गरेको हो। त्यसअघिल्लो दिन शनिबार पौडेलको नेतृत्वमा नेपाली उच्चस्तरीय टोलीले मितेरी पुलको स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणकै क्रममा दुबै देशका अधिकारीहरूबीच निर्माणस्थलमै अनलाइन बैठकसमेत भएको थियो, जसमा बाढीपछिको उद्दार तथा राहत, पुनर्निर्माणको प्राथमिकता र दीर्घकालीन संरचनाको योजना लगायतका विषयमा विस्तृत छलफल भएको थियो।

सीडीओ पौडेलका अनुसार, अहिले सीमा नाका बन्द हुँदा चिनियाँ पक्षले अस्थायी रूपमा बेली पुल निर्माण कार्य सुरु गरेको छ। उक्त पुलको लागि जमिन सम्याउने काम प्रारम्भ भइसकेको छ।

रसुवा जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार, बेली पुल निर्माण कार्य तीव्र गतिमा भइरहेको छ र आगामी भदौ महिनासम्म सम्पन्न हुने चिनियाँ पक्षको प्रतिबद्धता छ। यसले स्थानीयवासी, व्यापारी तथा सीमा नाका प्रयोगकर्तालाई तत्काल राहत पुर्‍याउने विश्वास गरिएको छ।

यता रसुवागढीको एकीकृत भन्सार कार्यालय भवन निर्माण भने अझै रोकिएको छ। स्थायी पुल पुनर्निर्माणलाई नेपाल–चीन दुबै पक्षले उच्च प्राथमिकता दिएका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *