Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा नेपाली दूतावास सतर्क, नेपाली सुरक्षित

थाइल्याण्ड–कम्बोडिया सीमा तनावमा नेपाली दूतावास सतर्क, नेपाली सुरक्षित

काठमाडाैं, ११ साउन । थाइल्याण्ड र कम्बोडियाको सीमा क्षेत्रमा जारी सुरक्षाकर्मीबीचको झडपको सन्दर्भमा परराष्ट्र मन्त्रालयले बैंककस्थित नेपाली दूतावासलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।

बुधबारदेखि तीव्र बनेको द्वन्द्वका कारण थाइल्याण्डका आठ सीमावर्ती जिल्लामा मार्शल लअ लागू गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म झडपमा कम्तीमा ३३ जनाको ज्यान गइसकेको छ।

नेपाल सरकारको निर्देशनअनुसार बैंककस्थित नेपाली दूतावासले सीमा क्षेत्रको स्थिति निगरानीमा राखिरहेको छ। त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे पनि नियमित जानकारी संकलन भइरहेको मन्त्रालयले जनाएको छ।

हालसम्म झडप प्रभावित क्षेत्रमा नेपालीहरू नपरेको पुष्टि भएको छ। थाइल्याण्डमा करिब ८०,००० र कम्बोडियामा करिब ३,००० नेपाली नागरिक रहेका छन्। तीमध्ये सीमा नजिकको क्षेत्रमा कोही पनि नरहेको र अन्य स्थानमा रहेका नेपालीहरू पनि सुरक्षित रहेको दूतावासले जनाएको छ।

झडप थाइल्याण्ड र कम्बोडियाको पुरातात्त्विक महत्त्वका प्राचीन स्थल प्रेह भेहियर र प्रसात ता मुएन थोम मन्दिर नजिक भइरहेको छ। यस क्षेत्रको ऐतिहासिक संवेदनशीलता र सीमा विवादका कारण पटक–पटक द्वन्द्व चर्किंदै आएको छ।

मन्त्रालयले दुबै देशमा रहेका नेपालीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ र कुनै पनि आकस्मिक अवस्थाको लागि दूतावाससँग सम्पर्कमा रहन सुझाव दिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *