बागमती कांग्रेस संसदीय दल बैठक : अविश्वास प्रस्तावमाथि छलफल हुँदै

हेटौंडा, १३ साउन । बागमती प्रदेशमा राजनीतिक हलचल चुलिँदै गर्दा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक सुरु भएको छ। बैठक मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको हो।
बैठकमा कांग्रेसको केन्द्रीय नेतृत्वबाट प्रतिनिधि रूपमा राजन केसी पनि सहभागी छन्। बैठकको प्रारम्भमै केसीको सहभागिता र केन्द्रबाट पठाइएको पत्र औपचारिक रूपमा पढेर सुनाइएको थियो। त्यसपछि संसदीय दलका नेता तथा वर्तमान मुख्यमन्त्री लामाविरुद्ध पेश गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ। बैठकमा अब प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन तथा सनाखत प्रक्रिया अघि बढ्नेछ।
संसदीय दलका स्रोतका अनुसार, प्रस्तावको टुंगो लगाउन आजै मत विभाजन हुने सम्भावना उच्च छ। प्रदेश सरकारको नेतृत्वमा रहेका बहादुर सिंह लामाको बहुमत टिकाउन सक्ने या नसक्ने भन्ने विषयमा बैठक निर्णायक बन्नेछ।