क्यालिफोर्नियामा अमेरिकी एफ–३५सी लडाकु विमान दुर्घटना, पाइलट सकुशल

काठमाडाैं, १५ साउन । अमेरिकी नौसेनाको अत्याधुनिक एफ–३५सी लडाकु विमान बुधबार साँझ क्यालिफोर्नियाको नेवल एयर स्टेशन लेमोर नजिकै दुर्घटना भएको छ।
अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार, साँझ करिब ६:३० बजे दुर्घटना भए पनि पाइलट सुरक्षितरूपमा इजेक्ट भएर ज्यान जोगाउन सफल भएका छन्। घटनाको कारणबारे अनुसन्धान जारी छ। सीएनएनका अनुसार, फ्रेस्नो शहरदेखि ६४ किलोमिटर दक्षिण–पश्चिममा पर्ने खुला कृषि क्षेत्रमा विमान खसेको थियो। स्थानीय टेलिभिजन KFSN ले खिचेको भिडियोमा बाक्लो कालो धुवाँ र आगलागी देखिएको छ।
दुर्घटनामा परेको विमान भीएफ-१२५ (रफ रेडर्स) स्क्वाड्रन अन्तर्गतको हो, जुन पाइलट तथा एयरक्रु तालिम दिने इकाइ हो। एफ–३५ लाइटनिङ–II को तीन संस्करणमध्ये एफ–३५सी विमानवाहक युद्धपोतबाट उड्न मिल्ने प्रकार हो। अमेरिकी वायुसेनाले एफ–३५ए र मेरिन कोर्प्सले एफ–३५बी प्रयोग गर्छन्।
विमानको मूल्य झण्डै १० करोड अमेरिकी डलर रहेको छ। यो सन् २०२५ को दोस्रो एफ–३५ दुर्घटना हो। यसअघि जनवरीमा अलास्कास्थित एइलसन एयर फोर्स बेसमा एफ–३५ए दुर्घटना भएको थियो, जसमा पनि पाइलट सकुशल थिए।
लोकहिड मार्टिनद्वारा निर्माण गरिएको यो पाँचौं पुस्ताको युद्ध विमान स्टेल्थ टेक्नोलोजी, मल्टीरोल क्षमता र डिजिटल युद्ध प्रणालीले सुसज्जित छ। हालसम्म १७ भन्दा बढी मुलुक एफ–३५ कार्यक्रममा सहभागी छन्। तर पछिल्ला वर्षहरूमा एफ–३५ लाई मर्मत तथा तयारी अवस्थाका समस्याले लिएर आलोचना समेत भइरहेको सीएनएनले जनाएको छ।