Date

बुध, साउन २१, २०८२
Wed, August 6, 2025

प्युजोका कुन-कुन मोडल उपलब्ध छन् नेपाली अटाे बजारमा ?

प्युजोका कुन-कुन मोडल उपलब्ध छन् नेपाली अटाे बजारमा ?

काठमाडौं, २० साउन । विद्युतीय सवारी उत्पादनमा सक्रिय बहुराष्ट्रिय कम्पनी स्टेलान्टिस अन्तर्गतको ब्रान्ड प्युजोले विश्व बजारमा आफ्नो विद्युतीय गाडी (ईभी)को उपस्थिति उल्लेखनीय रूपमा विस्तार गरिरहेको छ ।

नेदरल्यान्ड्सको एम्स्टर्डममा मुख्यालय रहेको स्टेलान्टिस सन् २०२१ मा फिएट क्रिसलर अटोमोबाइल्स र पीएसए ग्रुपको मर्जरबाट गठन गरिएको कम्पनी हो, जसले विश्वका प्रमुख अटो ब्रान्डहरू सञ्चालन गर्दै आएको छ । प्युजो स्टेलान्टिस समूहको एक प्रमुख ब्रान्डका रूपमा युरोपेली विद्युतीय सवारी बजारमा राम्रो पकड जमाउन सफल भएको छ ।

प्युजोका विभिन्न ईभी मोडलहरू युरोपमा लोकप्रिय छन् र कम्पनीले आफ्ना विद्युतीय गाडीहरू विश्वभरका विभिन्न देशहरूमा निर्यात गर्दै आएको छ । वातावरणप्रति बढ्दो जनचेतनासँगै प्युजोको ईभी बजार हिस्सा पनि क्रमशः बढिरहेको देखिन्छ । कम्पनीले विभिन्न सेगमेन्टमा आफ्कना ईभी मोडलहरू विस्तार गर्ने योजना अनुरूप नयाँ प्रविधियुक्त गाडी सार्वजनिक गर्न थालेको छ ।

नेपालमा प्युजो ईभीको आगमन

नेपालमा फ्रेन्च अटो ब्रान्ड प्युजोका विद्युतीय गाडीहरू पहिलोपटक सन् २०२३ मा भित्रिएका हो । प्युजो गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो । हाल नेपाली बजारमा उपलब्ध प्युजोको विद्युतीय मोडल प्युजो ई –२००८ मात्र हो, यसको डिजाइन, प्रविधि र कार्यक्षमतामा प्रिमियम अनुभव प्रदान गर्छ । यो गाडी शहरी तथा लामो दुरीका यात्राका लागि उपयुक्त मानिन्छ । सीजी मोटर्समार्फत नेपाली बजारमा ल्याइएको ई – २००८ ले विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै ग्राहकहरूलाई विकल्प दिने उद्देश्य राखेको छ ।

नेपालमा उपलब्ध भएको मोडल र विशेषता

नेपालमा प्युजोको २००८, ३००८, एसयुभी ५००८ तीन वटा पेट्रोलियम मोडलहरु रहेका छन् भने ई– २००८ ईभीको एउटा मात्र मोडल उपलब्ध रहेको छ ।

फ्रेन्च अटो कम्पनी प्युजो द्वारा निर्मित विद्युतीय गाडी प्युजो ई –२००८ हाल नेपालमा सीजी मोटर्समार्फत उपलब्ध छ, जसको बजार मूल्य आधिकारीक कम्पनीसँग बुझ्न सुझाव दिइन्छ, यो गाडीमा ५० किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री जडान गरिएको छ । जसले एकपटकको पूर्ण चार्जमा वातावरणीय अवस्था र ड्राइभिङ शैलीअनुसार ३४५ किलोमिटरसम्मको डब्लुएलटिपी रेन्ज दिन सक्छ ।

यसमा जडान गरिएको सय किलोवाट (१३६ हर्सपावर) क्षमताको इलेक्ट्रिक मोटरले २६० एनएम टर्क उत्पादन गर्छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति करिब ९ सेकेन्डमा दिनसक्छ ।

चार्जिङका लागि यसमा एसी र डीसी दुवै प्रकारका विकल्पहरू छन्, घरमा ११ किलोवाटको एसी चार्जरबाट सहज रूपमा चार्ज गर्न सकिने यो गाडी १०० किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गर्दा करिब ३० मिनेटमै ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

गाडीको डिजाइन आकर्षक र आधुनिक छ, जसमा फ्याङ आकारको एलईडी डीआरएल, स्पोर्टी लुक र प्रिमियम फिनिस रहेको छ । भित्री भागमा प्युजोको आई –ककपिट डिजाइन, सानो स्टेरिङ ह्वील, ३डी इन्स्ट्रुमेन्ट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्टजस्ता अत्याधुनिक सुविधा उपलब्ध छन् ।

सुरक्षाका हिसाबले पनि प्युजोको ई– २००८ उत्तम मानिन्छ, यसमा लेन किपिङ असिस्ट, अटोमेटिक इमरजेन्सी ब्रेकिङ, ट्राफिक साइन रिकग्निसन र एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता सुरक्षा प्रविधिहरू उपलब्ध छन् । विद्युतीय सवारीमा रुची राख्ने नेपाली ग्राहकका लागि यो गाडी पर्यावरणमैत्री, सुविधायुक्त र स्टाइलिश विकल्पका रूपमा स्थापित हुँदै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *