निजी क्षेत्रलाई प्राथमिकतामा राख्नेक्रम सुरु भएको छ ः अध्यक्ष ढकाल

काठमाडौं, २५ साउन । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पर्वत विकासको सम्भावना र अवसरहरुको पहिचान विषयक विमर्श कार्यक्रममा उनले पहिला नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने परम्परा रहेको भन्दै अहिले क्रमश त्यो परिवर्तन हुदैँ गएको बताए ।
उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई प्राथमिकतामा राखिएको अवस्था थिएन् । तर अहिले क्रमश निजी क्षेत्रलाई पनि ध्यानमा राखिएको कुरा सबैले महशुस गरेको छ । नाफामूलक र व्यवसायिक गतिविधिलाई मात्र प्राथमिकता दिने जुन परम्परा थियो त्यो पनि परिवर्तन हुँदै गएको छ ।’
यस्तै, उनले निजी क्षेत्र र सरकारबीच सहकार्य हुने हो भने हजारौं मानिसलाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था भएको भन्दै निजी क्षेत्रलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
उनले भने, ‘जबसम्म आम नागरिकहरुको चासो निजी क्षेत्रमा सकारात्मक रुपमा बढ्दैँन् तबसम्म रोजगारी सिर्जना गर्न, पूर्वाधार बढाउन सक्दैनौ । रोजगारी सिर्जना गर्ने कुरा धेरै गाह्रो कुरा हो । तर निजी क्षेत्रले सरकारलाई सहयोग गर्ने हो भने हजारौं जनालाई तुरुन्तै रोजगारी दिनसक्ने अवस्था पनि भएको हुनाले निजी क्षेत्रलाई एकदमै प्राथमिकतामा राख्नुपर्छ ।’