प्रधानमन्त्री ओलीले मागे रासायनिक मल वितरणको ठोस प्रस्ताव

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको प्रभावकारी वितरणको ठोस प्रस्ताव तीन दिनभित्र ल्याउन कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई निर्देशन दिएका छन् ।
रासायनिक मल अभावको गुनासो बढिरहेका बेला मंगलबार प्रधानमन्त्री ओलीले कृषिमन्त्री अधिकारी र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग छलफल गरेका थिए । दुवै मन्त्रीहरुसँग ओलीले रासायनिक मल उपलब्ध हुन नसकेकोबारे सोधेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोस्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएको छलफलमा सहभागी उद्योगमन्त्री भण्डारीले जानकारी दिए ।