नाडा अटो शोमा गाडी किन्न कुन बैंकले कति दिइरहेको छ कर्जा ?

काठमाडौं, ४ भदौ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५मा अटो प्रेमीहरु झुम्मिरहेका बीच वाणिज्य बैंकहरूले सस्तो ब्याजदरमा अटो कर्जा दिइरहेका छन् । बैंकहरूबीच तीव्र प्रतिस्पर्धा नै चलेको छ ।
बैंकमा तरलता थुप्रिरहेका बेला गाडी बुकिङ र खरिद गर्ने ग्राहकको भीडहरुमाथि बैंकहरुको नजर छ । जारी नाडा अटो शोमा ८ वटाले सहभागिता जनाएका छन्, जसमा बैंकहरूले न्यूनतम ६.२३ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशत ब्याजदरसम्मको अटो लोन योजना ल्याएका छन् ।
कुन बैंकले कतिमा दिन्छन् ऋण ?
कृषि विकास बैंकः
यस बैंकले न्यूनतम ६.२३ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । कृषिले बेसरेटमा जम्मा ०.३६ प्रतिशत मात्रै प्रिमियम जोडेर अटो कर्जा स्कीम ल्याएको हो । हाल बैंकको बेसरेट बेसरेट ५.८७ प्रतिशत छ । बैंकले अटो कर्जामा ०.७५ प्रतिशत सेवा शुल्क लिने जनाएको छ ।
नबिल बैंकः
यस बैंकले ७ वर्षसम्मका लागि न्यूनतम ६.७४ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यसमा ०.५ प्रतिशत सेवा शुल्क लिने बैंकले जनाएको छ । वार्षिक ८.२५ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षका लागि कर्जा दिने भएको छ । यसमा सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लिनेछ ।
ग्लोबल आइएमई बैंकः
यस बैंकले ६.९९ प्रतिशत ब्याजदरमै अटो कर्जा दिने भएको छ । यस बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदर योजना पनि ल्याएको छ ।
हिमालयन बैंकः गाडी किन्नेहरुलाई यस बैंकले बेसरेटमा ०.८७ प्रतिशत प्रिमियम तोकेर अटो कर्जा दिएको छ । सो अनुसार ७.५७ प्रतिशतमा ऋण दिन्छ । कर्जाको अवधि ८ वर्ष रहेकाे छ ।
एनएमबी बैंकः
यस बैंकले विद्युतीय सवारी किन्न ७.१३ प्रतिशत ब्याजदरमै कर्जा दिने भएको छ । बैंकले ५ वर्षका लागि भने ८.८९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ ।
सानिमा बैंकः
यस बैंकले विद्युतीय सवारी साधन किन्न न्यूनतम ७.४९ प्रतिशत स्थिर ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । त्यस्तै, बैंकले अन्य सवारी किन्न ५ वर्षका लागि ७.९९ प्रतिशत र ७ वर्षका लागि ८.१५ प्रतिशत ब्याजदर कर्जा दिनेछ । बैंकले ३ दिनमै कर्जा स्कीकृत गर्ने र प्रोसिङ चार्ज ०.५ प्रतिशत मात्र लिने जनाएको छ ।
नेपाल एसबीआई बैंकः
यस बैंकले पनि ६.९९ प्रतिशत ब्याजदरको भेहिकल लोन स्कीम ल्याएको छ । बैंकले न्यूनतम ३ वर्षदेखि ७ वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । प्रोसेसिङ चार्ज न्यूनतम मात्र लिने बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकः
यस बैंकले ७ वर्षका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा योजना ल्याएको छ । बैंकले नाडा अटो शो नै लक्षित गर्दै आगामी १४ मंसिरसम्म लागु हुने गरी कर्जामा छुटको अफर ल्याएको हाे ।