नाडा अटो शोमा ग्राहकलाई अफरै-अफरः हिरा, सुनदेखि नगद छुटसम्म, कुनले दिँदैछन् भारी छुट ?

काठमाडौं, ५ भदौ । नेपालको अटोमोबाइल क्षेत्रमा सबैभन्दा ठूलो मानिने नाडा अटो शो २०२५ मा विभिन्न कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्न आकर्षक अफरहरू ल्याएका छन्। नगद छुटदेखि लिएर विभिन्न भौतिक उपहार र सेवाहरू यस वर्षको शोका मुख्य आकर्षण बनेका छन्।
नाडा अटो शोमा एमएडब्लू वृद्धिले डोङफेङ नामी, फोटोन, र सोकोन गाडीहरूमा विशेष छुट दिएको छ। नयाँ सार्वजनिक गरिएको नामी ०६ मा १ लाख रुपैयाँ छुट दिएको छ । नाडा अटो शोमा दुई भेरियन्टमा सार्वजनिक गरेको नामी–०६ ई–२ ३७ लाख ९९ हजार रुपैयाँ र ई–२ प्लसको मूल्य ४० लाख ९९ हजार रुपैयाँमा किन्न सकिने जनाएको छ । नामी–०६ ई–२ को वास्तविक मूल्य ३८ लाख ९९ हजारर ई–२ प्लसको ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, फोटोन र सोकोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमशिर्यलले टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम वान र सोकोन ईभी भ्यानमा विशेष अफर ल्याएको छ ।
कम्पनीले फोटोन टीएम वानमा ६ लाख ७५ हजार रुपैयाँ छुट दिएको छ । हाल ३३ लाख ७४ हजार रुपैयाँमा बिक्री भइरहेको टीएम वान नाडामा २६ लाख ९९ हजार रुपैयाँमै किन्न पाइने छ । फोटोन टुनल्यान्ड पिकअप खरिदमा २५ हजार रुपैयाँको भाटभटेनी शपिङ कुपन वा स्पा अनुभव, ३ वर्षको निःशुल्क सर्भिसिङ र चालकको परिवारलाई स्वास्थ्य बीमाको सुविधा छ।
एलआरआर मोटर्सले जिलीको नयाँ गाडी ईएक्स–५ मा भारी नगद छुट दिएको छ। यसको प्रो भेरियन्टमा ३ लाख र म्याक्स भेरियन्टमा ४ लाख रुपैयाँको छुट छ। यी गाडीहरू क्रमशः ५४ लाख ९९ हजार र ६४ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छन्। नगद छुटका अतिरिक्त कम्पनीले दुवै भेरियन्टमा एक थान आइफोन १६ प्रो म्याक्स र एक तोला सुन पनि उपहार दिने भएको छ, जसले ग्राहकलाई थप आकर्षित गरेको छ।
रिडाराको आधिकारिक बिक्रेता सीजी मोटर्सले रिडारा आरडी सिक्स इलेक्ट्रिक पिकअप मा नगद छुट र एक्सचेन्ज बोनस दुवै ल्याएको छ। यसको टु ह्विल ड्राइभमा ३ लाख र फोर ह्विल ड्राइभमा २ लाख रुपैयाँसम्मको छुट छ। एक्सचेन्ज अफरमा थप ३ लाख रुपैयाँ छुट पाइन्छ। गाडी खरिदमा १ वर्षको सवारी बीमा, १ वर्षको सडक कर छुट, र निःशुल्क चार्जर पनि समावेश छन्। यसका साथै, सीजी मोटर्सले एक्स्पेङ जी–६ मा पनि ४ लाख रुपैयाँ नगद छुट दिएको छ।
स्काइवेलले यस वर्षको अटो शोमा आकर्षक अफर ल्याएको छ। यहाँबाट गाडी बुकिङ गर्ने ग्राहकले परिवारसहित युरोप टुर प्याकेज पाउनेछन्। यस टुरमा ग्राहकले युरोपमा स्काइवेलको टेस्ट ड्राइभ गर्ने अवसर पनि प्राप्त गर्नेछन्। हरेक बुकिङमा डाइमन्ड नेकलेस प्रदान गरिनेछ भने भाग्यशाली ग्राहकले रोलेक्स घडी जित्न सक्नेछन्। साथै, ८० प्रतिशतसम्मको फाइनान्स सुविधा र १ वर्षको कर पनि कम्पनीले नै तिरिदिनेछ।
सुजुकीले ‘सुजुकी पर्वोत्सव अफर’ अन्तर्गत ग्राहकलाई ६ लाख रुपैयाँसम्मको नगद छुट दिने भएको छ । यसका साथै, १ वर्षको सवारी बीमा, ६ वर्षको लागि निःशुल्क मर्मत पार्टपुर्जा, र २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पनि उपलब्ध छ। कम्पनीले स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँ छुट दिने र १० जना भाग्यशाली ग्राहकलाई १÷१ तोला सुन प्रदान गर्ने योजना बनाएको छ। अल्टो र सेलेरियो जस्ता लोकप्रिय मोडलहरूमा १ वर्षका लागि शून्य प्रतिशत ब्याजदरको सुविधा पनि छ।
टाटाले आफ्ना ईभी गाडीहरू खरिद गर्ने ग्राहकका लागि विशेष सुविधा ल्याएको छ। टाटाका ईभी किन्दा चार्जिङ नेटवर्कमा जीवनभरका लागि निःशुल्क चार्जिङ, ३ वर्षको निःशुल्क सर्भिसिङ, निःशुल्क बीमा, १ वर्षको भेइकल ट्याक्स छुट, घरमा निःशुल्क चार्जिङ स्टेसन जडान र निःशुल्क इम्बोस्ड नम्बर प्लेट जडान जस्ता सेवाहरू प्रदान गरिनेछन्।
नाडा अटो शोमा नेपाल भित्रिएको नयाँ ब्राण्ड जिनपेङले पहिलो पटक ५ लाख रुपैयाँको भारी छुट दिएको छ। यस छुटपछि यसको वास्तविक मूल्य २३ लाख ४९ हजार र २४ लाख ९९ हजारबाट घटेर १९ लाख ९९ हजार र १८ लाख ९९ हजार रुपैयाँमा झरेको छ। यसले नयाँ ग्राहकलाई आकर्षित गर्न मद्दत गर्ने देखिन्छ।