“धान रोपाइँ ९५ प्रतिशत पूरा : मधेसमा सुख्खाले बढी असर”

काठमाडाैं, १० भदाै । वर्षा र मौसमका अनिश्चितताबीच पनि नेपाली किसानहरूले यस वर्ष ९५ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न गरेका छन् । कृषि विभागका अनुसार देशभर १३ लाख ६ हजार हेक्टरमा धान रोपाइँ भएको छ । यस वर्ष कुल १३ लाख ७६ हजार ४६६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको भए पनि करिब ७० हजार हेक्टर कम क्षेत्रमा मात्र खेती सम्भव भएको हो । यसरी कुल धान रोपाइँ ९४.९ प्रतिशत पूरा भएको विभागले जनाएको छ ।
प्रदेशगत अवस्था
मधेस प्रदेशमा सुख्खा संकटका कारण अपेक्षाभन्दा धेरै कम रोपाइँ भएको छ । अनुमानित ३ लाख १९ हजार ६२६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भनिए पनि करिब ५० हजार हेक्टर कम, अर्थात् ८६ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
कोशी प्रदेशमा अनुमानित २ लाख ७६ हजार हेक्टर क्षेत्रफलमध्ये करिब ८ हजार हेक्टरले कमी देखिएको छ । कर्णालीमा ४१ हजार हेक्टर लक्ष्य थियो तर १ हजार कम क्षेत्रमा रोपाइँ भएको छ । यस्तै, सुदूरपश्चिममा पनि अनुमानभन्दा ६ हजार हेक्टर कममा मात्र धान खेती गरिएको तथ्यांक छ ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा पनि सामान्य कमी देखिन्छ । बागमतीमा अनुमानित १ लाख १५ हजार हेक्टरको साटो करिब १ लाख १२ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ । गण्डकीमा ९४ हजार हेक्टर अनुमान भए पनि करिब ९१ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा ३ लाख २ हजार हेक्टर अनुमान भए पनि करिब २ लाख ९८ हजार हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ ।
यसरी हेर्दा, सुख्खा र अनिश्चित मौसमका कारण केही क्षेत्रमा धान रोपाइँ प्रभावित भए पनि समग्रमा किसानहरूको परिश्रम र लगनशीलताका कारण देशभर करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न हुनु सकारात्मक संकेत मानिएको छ । कृषि विज्ञहरूका अनुसार बाँकी मौसम अनुकूल भए धान उत्पादनमा ठूलो घाटा नहुने अपेक्षा गरिएको छ ।