शेयर धितो कर्जामा वाणिज्य बैंकहरुको आक्रामक लगानी, एक वर्षमै गरे एक खर्ब ४० अर्ब

काठमाडौं, १० भदौ । बैंक तथा वित्तीय संस्थाहरूले शेयर धितो कर्जामा लगानी ५६.१७ प्रतिशतले बढाएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह गरेका हुन् । जबकी अघिल्लो आवमा यस्तो कर्जा ९० अर्ब ९ करोड रुपैयाँ बराबरको गरेका थिए ।
गत आवमा वाणिज्य बैंकहरुको शेयर धितो कर्जा ६६.०५ प्रतिशतले बढेको छ । यस अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिमा वाणिज्य बैंकहरुले ७० अर्ब ३४ करोड कर्जा दिएका थिए ।
गत आवमा विकास बैंकहरुको १९ अर्ब ५४ करोड शेयर धितो कर्जा दिँदा फाइनान्स कम्पनीहरूको ४ अर्ब ३५ करोड रुपैयाँ दिएका छन् । अघिल्लो आवमा विकास बैंकहरुले १५ अर्ब ५९ करोड र फाइनान्स कम्पनीले ४ अर्ब १४ करोड शेयर धितो कर्जा दिएका थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले शेयर धितो कर्जा प्रवाह गरेको छैन । यसबाहेकका वाणिज्य बैंकहरुमध्ये १८ बैंकले शेयर धितो कर्जा प्रवाह बढाउँदा एनआइसी एशिया बैंकले शेयर धितो कर्जामा लगानी घटाएको छ ।
वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नबिल बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ भने सबैभन्दा कम नेपाल एसबिआई बैंकले शेयर धितो कर्जामा लगानी गरेको छ ।