सौर्य ऊर्जाको सस्तो विकल्पले जलविद्युत् लगानीमाथि प्रश्न

काठमाडाैं, २० भदाै । करिब ४ खर्ब रुपैयाँ जलविद्युत् आयोजनामा लगानी गरिसकेका बैंक तथा वित्तीय संस्थाहरू अहिले नयाँ परियोजनामा कर्जा विस्तार गर्न हिचकिचाउन थालेका छन्। कारण – प्रविधिमा आएको तीव्र विकासले सौर्य ऊर्जालाई सस्तो र आकर्षक विकल्प बनाइदिएको छ।
नेपाल राष्ट्र बैंकको बाध्यात्मक लगानी नीतिका कारण विगत दशकमा सबैभन्दा धेरै पूँजी आकर्षित भएको क्षेत्र जलविद्युत् भए पनि अब यसकै भविष्यबारे प्रश्न उठ्न थालेको छ। प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरका शब्दमा, “सौर्य ऊर्जाको लागतमा आएको कमीले जलविद्युत् क्षेत्रलाई जोखिममा पारेको छ। हामी साना आयोजनामा मात्रै सीमित कर्जा दिन थालेका छौँ, ठूलो लगानी गर्न रोकेका छौँ।”
जलविद्युत्को चुनौतीहरू
निजी ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)ले पछिल्ला कानूनी व्यवस्थाले जलविद्युत् क्षेत्रलाई थप समस्या ल्याउने चेतावनी दिएको छ।
-
सरकारका निर्णयले सर्वसाधारण सेयर लगानीकर्ताको सम्पत्ति जोखिममा पर्न सक्ने चिन्ता।
-
जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोप, वर्षातको अनियमितता र जलस्रोतमा कमी।
-
लगातार बढ्दो निर्माण लागतले आयोजना महँगो पार्ने अवस्था।
सौर्य ऊर्जाको रफ्तार
विश्व बजारमा सौर्य प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ।
-
केही वर्षअघि मात्र ९–११% ऊर्जालाई विजुलीमा रूपान्तरण गर्ने दक्षता अहिले २०–२३% पुगेको छ।
-
परीक्षणमा २८% दक्षता र प्रयोगशालामा ४०% सम्म रूपान्तरण सम्भव भएको देखिएको छ।
-
अहिले १ वर्ग मिटर प्यानलबाट ११० वाट सट्टा २००–२३० वाटसम्म विजुली उत्पादन गर्न सकिने अवस्था छ।
सौर्य प्यानलको भाउ पनि घटिरहेको छ।
-
घरको छतमा प्रतिमेगावाट सौर्य ऊर्जा जडान खर्च ४–४.५ करोड रुपैयाँ।
-
जग्गासहित उत्पादन गर्दा ५–६ करोड रुपैयाँ प्रतिमेगावाट लागत।
-
६ महिना देखि १ वर्षभित्रै विजुली बेच्ने अवस्था।
हाल मुख्य चुनौती भनेको भण्डारण (स्टोरेज) हो। ठूलो क्षमताका ब्याट्री प्रयोग गर्दा प्रतिमेगावाट करिब १० करोड खर्च लाग्छ। तर, अनुसन्धानका कारण ब्याट्रीको लागत निकट भविष्यमै घट्ने अपेक्षा गरिएको छ।
लागत तुलना
-
सौर्य ऊर्जा (ब्याट्रीसहित) – प्रतिमेगावाट १२–१५ करोड।
-
जलविद्युत् – प्रतिमेगावाट २० करोडभन्दा माथि।
त्यसमाथि जलविद्युत्मा प्राकृतिक प्रकोपसँग जुध्न थप खर्च बढ्ने भएकाले यसको प्रतिस्पर्धात्मक क्षमता घट्ने चिन्ता बढेको छ।