हरियो फर्सी, काँक्रो र घिरौँलामा भेटियो अत्यधिक विषादी, उपभोक्ता सतर्क बन्नुपर्ने

काठमाडौं, २३ असोज । कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएका यी तरकारी उपभोग अयोग्य रहेको समितिले जनाएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो ।