“यसपटक तिहारमा सुन होइन, चाँदीका मेडालियन मात्रै राष्ट्र बैंकबाट”

काठमाडाैं, २८ असाेज । नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारलाई लक्षित गर्दै सुनका असर्फी वितरण नगर्ने निर्णय गरेको छ । विगतका वर्षहरूमा तिहारको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले यसपटक भने चाँदीका मेडालियन मात्र बिक्रीमा ल्याउने भएको हो ।
टक्सार महाशाखाले जारी गरेको सूचनाअनुसार, असोज २६ गतेदेखि लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको आकृतियुक्त चाँदीका मेडालियन बिक्रीमा आउनेछन् । प्रत्येक मेडालियनको तौल १० ग्राम र मूल्य ३,००० रुपैयाँ तोकिएको छ ।
केन्द्रिय बैंकका अनुसार, एक व्यक्तिलाई एक थान मात्र मेडालियन वितरण गरिनेछ । खरिदका लागि नागरिकताको प्रतिलिपि वा परिचयपत्रको नम्बर भएको वैध प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
राष्ट्र बैंकले विगतमा तिहारको समयमा सुनका असर्फीको उच्च माग र कालोबजारको आशंकाले गर्दा यो वर्ष सुनका असर्फी वितरण स्थगित गरिएको बताएको छ ।
यसपटकको निर्णयसँगै, तिहारमा सुनका असर्फीको सट्टा चाँदीका मेडालियनले परम्परागत बजारमा नयाँ विकल्प ल्याउने अनुमान गरिएको छ ।
बैंकका अनुसार, चाँदीका यी मेडालियनहरू सीमित संख्यामा हुने भएकाले पहिलो आइपुग्नेले पाउने प्रणालीमा बिक्री हुनेछ ।