प्रिमियम महसुल तिर्न थाले उद्योगहरू, सम्राट र रोल्पा सिमेन्टले किस्ता बुझाए

काठमाडाैं, ३१ असाेज । डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका उद्योगहरूले लामो समयदेखि बाँकी रहेको प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन्।
प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले पुनः किस्ता बुझाउने प्रक्रिया अघि बढाएका छन्। यी उद्योगहरूले विगतमा किस्ताबन्दी सुविधा लिएर रकम तिर्न सुरु गरे पनि गत वैशाखदेखि भुक्तानी रोकेका थिए।
सम्राट सिमेन्टले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत थप महसुलका रूपमा ३ करोड ७७ लाख रुपैयाँ तिर्नुपर्ने थियो। उक्त रकम १३ लाख ४९ हजार रुपैयाँको मासिक किस्तामा २८ किस्तामा बुझाउने स्वीकृति लिएको उद्योगले चार किस्ता तिरेपछि तिर्न छाडेको थियो। हाल उद्योगले तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ एकैपल्ट बुझाएर जेठसम्मको किस्ता चुक्ता गरेको प्राधिकरण, प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख दीपक गौतमले बताए।
गौतमका अनुसार सम्राट सिमेन्टले असारदेखि असोजसम्म बुझाउनुपर्ने ११ किस्तामध्ये सात किस्ता मात्र तिरेको छ। बाँकी ४ किस्ताको ५३ लाख ९६ हजार रुपैयाँ बुझाउन पुनः पत्राचार गरिएको र उद्योगले बाँकी किस्ता नियमित तिर्ने आश्वासन दिएको छ।
रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकम ३ लाख ५४ हजार रुपैयाँको मासिक किस्तामा २८ किस्तामा तिर्न स्वीकृति पाएको थियो। उद्योगले ६ किस्ता तिरेपछि भुक्तानी रोकेको भए पनि हाल ५ किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपल्ट तिरेको छ। अब उद्योगको १७ किस्ता बाँकी रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले १२ किस्ता बराबर १ लाख २३ हजार रुपैयाँ बुझाएर आफ्नो बक्यौता रकम पूर्ण रूपमा चुक्ता गरेको छ।
प्राधिकरणले बक्यौता रकम तिर्न बाँकी रहेका अन्य उद्योगहरूलाई पनि किस्ता नियमित गर्न र निर्धारित समयमै प्रिमियम महसुल बुझाउन आग्रह गरेको छ।