Date

मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

ल्यबु आयलको दोहोरो उछाल

ल्यबु आयलको दोहोरो उछाल

काठमाडाैं, २ मंसिर । नेपाल ल्यबु आयल लिमिटेडले पछिल्ला वर्षहरूमा निरन्तर व्यावसायिक वृद्धि हासिल गर्दै सन् २०२५ मा दोहोरो अंकको व्यापार विस्तार गर्न सफल भएको छ। सीजी होल्डिङ्स अन्तर्गत सञ्चालनमा रहेको यस कम्पनीले एकै आर्थिक वर्षमा झण्डै डेढ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आफ्नो बजार उपस्थिति झन् मजबुत बनाएको छ।

कम्पनीका अनुसार सन् २०२५ मा कुल १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको व्यापार भएको छ, जुन अघिल्लो वर्ष २०२४ को तुलनामा १५.१५ प्रतिशतले बढी हो। मागअनुसार उत्पादन तथा आपूर्ति विस्तारसँगै २०२४ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँ र २०२३ मा ९२ करोड ७० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले लगातार तीन वर्ष वृद्धि देखाएको छ।

व्यापार बढेसँगै कम्पनीको नाफा पनि उल्लेख्य रूपमा उकासिएको छ। चालू वर्षमा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अटोमोटिभ तथा औद्योगिक लुब्रिक्यान्ट, ट्रान्सफर्मर आयल लगायतका उत्पादनहरूमा बढ्दो माग नै व्यापार वृद्धिको प्रमुख आधार रहेको कम्पनीले जनाएको छ।

ल्यबु आयलले गोल्फ आयल इन्टरनेशनलसँगको लाइसेन्समा ‘गल्फ’ ब्रान्डका लुब्रिक्यान्टहरू बिक्री गर्दै आएको छ। साथै, कम्पनीले ५१ करोड ८७ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको छ, जसअन्तर्गत ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ५१ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेका छन्।

सन् १९८४ मा स्थापना भएको कम्पनीले लुब्रिक्यान्ट उद्योगमा तीन दशकभन्दा बढीको अनुभवसहित नेपालमा बलियो ब्रान्ड पहिचान बनाएको छ। आगामी वर्षहरूमा उत्पादन विविधिकरण, प्रविधि आधुनिकीकरण र बजार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीको योजना छ।

अनुभवी नेतृत्व, रणनीतिक व्यवस्थापन र बजारको माग बुझेर अघि बढ्ने क्षमताले नै हालको सफलतामा भूमिका खेलेको कम्पनीको दाबी छ। कम्पनीका अध्यक्ष अरुण कुमार चौधरी सीजी होल्डिङ्सका पनि अध्यक्ष हुन्, जसको नेतृत्वमा ल्यबु आयलले थप प्रतिस्पर्धात्मक बनेको बताइन्छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *