‘व्यवसायमा पुनःउत्थानका लागि बैंकिङ सहुलियत आवश्यक
काठमाडाैं, २ मंसिर । नेपालमा लामो समयको आर्थिक सुस्ती, उपभोगमा कमी र कारोबार घाटा सहन नसक्दा थुप्रै साना तथा मध्यम व्यवसायीहरू व्यवसाय छाडेर बाहिरिन थालेका छन्। यसले बैंकिङ क्षेत्रमा पनि ऋण उठाउने सम्भावना कमजोर बनाएको बैंकरहरूको भनाइ छ।
‘हामीले धितो त लिएका छौँ, तर धितोमात्रै पर्याप्त हुँदैन, मान्छे नै नभए व्यापार र धितो दुवै बेकार हुन्छन्,’ एक बैंकरले भनेका छन्।
साढे तीन वर्षअघि सरकारले भुक्तानी सन्तुलनालाई ध्यानमा राख्दै वस्तु आयातमा रोक लगाउँदा समस्या सुरु भएको थियो। २०७९ वैशाख १३ मा पहिलो आयात निरुत्साहन कदम लागू भएको र त्यस वर्षको मंसिर मसान्तसम्म यो रोक कायम रह्यो। कठोर मौद्रिक नीति र आयात प्रतिबन्धका कारण धेरै व्यवसाय बन्द भए। त्यस्तै सहकारी संस्था, लघुवित्त विकृति, सेयर बजारको ओरालो र घरजग्गाको गिरावटले अर्थतन्त्र प्रभावित भएको थियो।
अर्कोतिर, जापान, अस्ट्रेलिया, क्यानडाजस्ता मुलुकले नेपाली विद्यार्थीलाई भित्र्याए। नेपाली युवाहरू सम्पत्ति बेचेर स्थायी बसोबासको लागि विदेश गएका छन्। यसले उपभोगमा संकुचन ल्याएको र शहरका कफिसप, मासु, मदिरा, तेल, चामल, लत्ताकपडा, भाटभोटिनी जस्ता विक्रेताहरूको व्यापार घटाएको छ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेका अनुसार, अब उधारो दिन पनि युवा व्यवसायीलाई विश्वास गर्न गाह्रो भएको छ। ‘४०–४५ वर्षभन्दा कम उमेरका व्यवसायीले ऋण लिएपछि पैसा फिर्ता नगर्ने प्रवृत्ति देखियो,’ पाण्डेले बताए।
राजनीतिक अस्थिरता र पछिल्लो जेनजी आन्दोलनले व्यवसायीहरूको मनोबल कमजोर बनाएको छ। बैंकमा पर्याप्त पैसा भए पनि लगानी गर्न कोही तयार छैन। घरजग्गा र सेयर बजारमा मूल्य वृद्धिको अवस्था पनि रोकिएको छ।
केही बैंकर भने पुन: सस्तो ब्याजदरमा ऋण दिने मौद्रिक राहत आवश्यक रहेको सुझाव दिँदैछन्। ‘यदि राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा ऋणीलाई सहुलियत उपलब्ध गराए व्यवसायीको मनोबल बढ्छ र उद्योगधन्दा पुनःफुर्तिलो हुन्छ,’ उनीहरूको भनाइ छ।
हाल वाणिज्य बैंकको औसत आधारदर ५.७२ प्रतिशत रहेको छ। यदि शून्य नजिकको ब्याजदर उपलब्ध भयो भने, व्यवसाय पुनःचलायमान हुने र बैंकिङमा रहेका अधिक तरलताको समस्या पनि समाधान हुने विश्वास बैंकरहरूको छ।



