काठमाडाैं, २ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो सातौँ वार्षिक साधारणसभा मंसिर २३ गते गर्ने भएको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौं बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेबाट सभा सञ्चालन गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय प्रतिवेदनहरू पारित गरिनेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा प्रस्तुत हुनेछ।
त्यसैगरी, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन पनि सभाको मुख्य कार्यसूची मध्ये एक रहेको बैंकले जनाएको छ।
यसअघि, बैंकले भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकमार्फत शेयरधनीलाई चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिसकेको थियो। तर यो प्रस्ताव यस पटकको साधारणसभाको एजेण्डामा समावेश गरिएको छैन।
सभाका प्रयोजनका लागि निफ्राले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजका आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।
निफ्राले संरचनागत विकासमा सक्रिय भूमिका खेलिरहेको अवस्थामा यस वर्षको सभाले आगामी रणनीति र नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।