Date

बुध, मंसिर ३, २०८२
Wed, November 19, 2025

काठमाडौं महानगरको राजस्व संकलन वृद्धि, आन्तरिक कर भने घट्यो

काठमाडौं महानगरको राजस्व संकलन वृद्धि, आन्तरिक कर भने घट्यो

काठमाडौं, ३ मंसिर । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रूपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यो अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रूपैयाँ संकलन भएको महानगरले जनाएको छ । यो रकम ५ करोड ६५ लाख १० हजार ४९२ रूपैयाँ बढी हो ।

गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रूपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यस वर्ष १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ ।

चालू आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रूपैयाँ संकलन भएको छ । गएको वर्ष १ अर्ब ९९ लाख २ लाख ६७ हजार ६९५ रूपैयाँ संकलन भएको थियो । गत वर्षको तुलनामा यो २ करोड २० लाख ९१ हजार ९९५ रूपैयाँ कम हो ।

महानगरका अनुसार आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो । गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख ३ हजार ७३८ रूपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रूपैयाँ संकलन भएको छ ।

राजस्व विभागका प्रमुख दिपक अधिकारीले भने, ‘गएको वर्ष सम्पत्ति करको दर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरमा लिने भन्ने निर्णय गरियो । यो निर्णयबाट ठूलो भवन भएका करदाताको राजस्व गुणात्मक रूपमा वृद्धि भयो । साना घर हुनेको घट्यो । यस विषयमा करदाताबाट गुनासो आएपछि २०८१ असोज महिनामा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर लिने निर्णय गरेपछि त्यस अवधिमा बढी कर तिरेका करदाताको यस वर्ष कर समायोजन गर्ने भनियो । यसरी समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो ।’

यस वर्ष बहाल कर असुली बढेको छ । गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रूपैयाँ संकलन भएकोमा यस वर्ष १ अरब २ करोड ९२ लाख ९७ हजार ५७० रूपैयाँ संकलन भएको छ ।

अधिकारी भन्छन्, ‘२०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय सरकारको क्षेत्राधिकार भएको फैसला गरेपछि साबिकमा संघ सरकारका आन्तरिक राजस्व कार्यालयहरूबाट उठाइँदै आएको कर महानगरपालिकामै जम्मा थालेपछि यस शीर्षकमा कर बढेको हो ।’

यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ । गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रूपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रूपैयाँ असुली भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *