महेश बस्नेतको प्रश्न- हे कठपुतली सरकार, सुशासनको अझ कति खिल्ली उडाउने हो ?
काठमाडौं, ३ मंसिर । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले लोकतन्त्र, विधि र सुशासनको खिल्ली उडाएको भन्दै कडा आपत्ति जनाएका छन् ।
राष्ट्रिय युवा संघ, नेपालको मधेश जागरण सभामा सहभागी हुन बाराको सिमरा जान लाग्दा विमानस्थलमा अवरोध सिर्जना गरिएको र सामान्य घटनालाई लिएर कर्फ्यु लगाइएको घटनाप्रति लक्षित गर्दै उनले वर्तमान सरकारलाई ‘कठपुतली’को संज्ञा दिएका हुन् ।
नेता बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्रीय युवा संघ नेपालको मधेश जागरण सभामा बाराको सिमरा जान लाग्दा यएरपोर्ट अबरोध गरेर जान नदिने ‘जेन–जेड’ को नाममा विभिन्न दल–आवद्ध अराजक भिड उतारेर आन्दोलन गराउने र ५०–६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु नैतिकरूपमा गलत कार्य हो। सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता संविधानले दिएको मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने सरकारले फागुन २१ मा चुनाव गराउँछु भनेर दाबी गर्नु हास्यास्पद देखिन्छ।’
उनले थपे, ‘हे कठपुतली सरकार , लोकतन्त्र, बिधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो? नियत स्पष्ट भइसकेको छ। जनताले सबै बुझिसकेका छन्।’
उनले संविधानले दिएको सभा–सम्मेलन गर्न पाउने, स्वतन्त्र विचार राख्न पाउने जस्ता मौलिक अधिकारहरू हनन गरेर दलहरूको गतिविधि रोक्ने कार्य गरेकोमा सरकारको आलोचना गरेका छन् ।



