अवैध आयात रोकिएपछि अण्डा बजार स्थिर, किसान राहतमा
काठमाडाैं, ७ मंसिर । भारतसँगको सीमामा कडाइ बढेपछि अवैध रूपमा नेपाल भित्रिने अण्डा रोकिएको छ, जसको प्रत्यक्ष लाभ देशभरका कुखुरापालक किसानले पाउन थालेका छन्। अवैध प्रतिस्पर्धा घटेसँगै किसानले धेरै समयपछि उत्पादन लागतबराबरको मूल्य प्राप्त गर्न थालेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ।
संघले नयाँ मूल्य सूची सार्वजनिक गर्दै आजदेखि लागू हुनेगरी अण्डाको प्रतिक्रेट मूल्य समायोजन गरेको छ। नयाँ दरअनुसार एक्सएल साइजका अण्डाको प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो साइजको ५०५ रुपैयाँ र मिडियम साइजको ४९० रुपैयाँ निर्धारण गरिएको छ। यो अघिल्लो मूल्यभन्दा प्रति क्रेट ५५ रुपैयाँ बढी हो।
भारतमा निर्वाचनका कारण सीमा कडाइ, त्यहाँको बजारमा अण्डाको उच्च खपत र मूल्यवृद्धिका कारण नेपालतर्फ हुने अवैध तस्करी घटेको संघको भनाइ छ। भारतमा हाल प्रतिगोटा अण्डा करिब भारतीय रुपैयाँ ७.८० मा बिक्री भइरहेको बताइएको छ।
नेपालमा एकवटा अण्डा उत्पादन गर्न करिब १६.५७ रुपैयाँ खर्च हुने भएकाले अहिलेको मूल्यले किसानलाई राहत मिलेको संघको दाबी छ। जाडो मौसम सुरु भएकाले आगामी दिनमा अण्डाको माग अझै बढ्ने र बजार तथा उत्पादन दुवै सन्तुलित रहने अपेक्षा गरिएको छ।
देशभर हाल दैनिक करिब ४० लाखको हाराहारी अण्डा उत्पादन भइरहेको अनुमान छ। किसानलाई उत्पादन प्रोत्साहन मिलेसँगै आगामी महिना अण्डा आपूर्ति स्थिर र सहज हुने विश्वास गरिएको छ।



