पाँच दिनभित्र उखु किसानको बक्यौता चुक्ता गर्न सरकारको निर्देशन
काठमाडौं, २३ असोज । सरकारले पाँच दिनभित्र उखु किसानको पुरानो बक्यौता चुक्ता गर्न सरकारले चिनी मिलहरुलाई निर्देशन दिएको छ । सोमबार बसेको अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा भू संरक्षण मन्त्रीहरुको बैठकले पाँच दिनभित्र उखु किसानको भूक्तानी दिन आग्रह गरेको हो । स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने सरकारको नीति रहेको भएपनि चिनी उद्योगीहरुले मूल्य शृंखला विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उखु उत्पादक किसानलाई मर्कामा पारेको भन्दै किसानको बक्यौता तुरुन्त चुक्ता गर्न आग्रह गरिएको हो ।
चिनी मिलले समयमा भुक्तानी नदिदाँ उखु किसान उखु उत्पादनमा निरुत्साहीत भएका थिए । अर्थमन्त्री डा. युवराज खतिवडाले चिनीमा आत्मनिर्भर हुने सम्भावना रहेको भएपनि उत्पादकहरुले प्रतिस्पर्धा भने बढाउनुपर्ने बताउँदै आएका छन् ।
चिनी मिलले उखु किसानलाई डेढ अर्ब रुपैँया भुक्तानी दिन बाँकी रहेको छ । सरकारले आयातमा परिमाणात्मक बन्देज लगाउनु अघि झण्डै तीन अर्ब रुपैँया बक्यौता रहेकोमा चिनी मिलले आधा बक्यौता तिरेको उद्योग सचिव यामकुमारी खतिवडाले जानकारी दिइन् ।