दशैंको बिदापछि खुले कार्यालय, मानिसहरुको चहलपहल भने कम
काठमाडौं, ०४ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैं मनाउनका लागि सरकारी बिदा सकिएको छ । ५ दिनको दशैं बिदापछि आजबाट सरकारी कार्यालय खुलेका छन् ।
फूलपातीदेखि एकादशिसम्म सरकारले दशैंको बिदा दिएको थियो । आज, दशैंको द्वादशीदेखि सम्पूर्ण कार्यलयहरु खुलेका हुन् । विजयादशमी भने पूर्णिमासम्म मनाउने चलन छ । घटस्थापनादेखि पूर्णिमासम्म गरी दशैं १५ दिनसम्म मनाउने गरिन्छ ।
सरकारी कार्यलयसँगै केहि निजी संस्थाहरुपनि आजबाट नै खुलेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले भने दशैंमा पनि आंशिक भएपनि सेवा सुचारु गरेर सेवा दिए भने आजबाट नियमित सेवा दिने छन् ।
आजबाट कार्यालयहरु खुलेपनि मानिसहरुको चहलपहल भने प्रायः सुनसान नै देखिएको छ । देशका विभिन्न स्थानबाट काठमाडौंलाई कर्मथलो बनाएका मानिसहरु महान चाड दशैं मनाउन आआफ्नो पुर्खौली थलो गएकाहरु फर्कि नसकेको हुँदा काठमाडौं आजपनि सुनसान नै देखिएको छ । करिब २४ लाख भन्दा बढि मानिसले दशै मनाउन उपत्यका छाडेका थिए ।
दिनहु धुलो धुँवाको प्रकोप सहनुपर्ने उपत्यकावासीले पनि दशैं विदाको केही दिन भने स्वच्छ महसुस गरे भने बाटोमा ट्र«ाफिक जामको समस्या झेल्नुपरेन ।