हङकङ र चीनबीच समुद्रमा विश्वकै लामो पुल

(एजेन्सीहरु), ७ कात्तिक । हङकङ र चीनबीचको समुद्रमा विश्वकै लामो पुल निर्माण भई औपचारिक उद्घाटन भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त पुलको उद्घाटन गरेका छन् । हङकङ, मकाउ हुँदै चिनियाँ सहर जुहाई जोड्ने यो पुल ५५ किलोमिटर लामो छ । यो पुल २० अर्ब डलरको लागतमा निर्माण गरिएको हो ।
चीनले ९ वर्ष लगाएर यो पुल निर्माण गरेको हो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले जुहाई सहरमा मंगलबार आयोजित समारोहमा उपस्थित भएर यो पुल सार्वजनिक सवारी साधनका लागि खुल्ला भएको घोषणा गरेका थिए ।
५५ किलोमिटर अर्थात् ३४ माइलको यो पुल सन् २०१६ मा सम्पन्न हुनुपर्नेमा केही समय ढिलाई भएको थियो । चीनको यो परियोजनाले ठूलो क्षेत्रफलमा सामुद्रीक सतह ५६,५०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो पुलको निर्माण सँगै तीन घण्टा लगाएर गर्नुपर्ने यात्रा ३० मिनेटमा गर्न सकिने भएको छ । यसले चीनको जुहाई सहर, मकाउ र हङकङको आर्थिक वृद्धिलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।
यो पुल निर्माणका लागि ४२०,००० टन स्टीलको प्रयोग भएको छ । जुन फ्रान्सको आइफिल टावर निर्माणका लागि प्रयोग भएको स्टील बराबर हो । ५५ किमी मध्ये ३० किमी समुद्र सतहमाथि भएर जान्छ भने ६.७ किमी पानीको सतह मुनि सुरुङ भएर जान्छ भने माथिबाट पानी जहाजहरु सहजै वारपार गर्न सक्छन् । यो पुलमा सटल बसहरु पनि सञ्चालन भएका छन् । चीनमा यो भन्दा लामो पुलहरु पनि छन् । तर समुद्रमाथि निर्माण भएको यो विश्वकै सबैभन्दा लामो पुल हो ।