विश्वव्यापार संगठनमा नयाँ विषय प्रवेश गर्लान्?
काठमाडौं, मंसीर १३ । विश्वव्यापार संगठनको आगामी डिसेम्बर १० देखि १३ सम्म अर्जेन्टिनाको राजधानी व्युनर्स आयर्समा हुने मन्त्रिस्तरी सम्मेलनमा दोहा राउण्डमा बाँकी रहेका सहमतिका विषयहरुलाई तीव्रता दिनुपर्ने विज्ञहरुले बताएका छन् । सन् २००१ मा कतारको दोहारमा सम्पन्न मन्त्रिीस्तरीय सम्मेलनपछि सहमति हुन बाँकी रहेका विषयहरुमा त्यसयताका मन्त्रिस्तरीय बैठकहरुमा छलफल हुँदै आएका छन् तर दोहा राउण्डमा छलफल भएका विषयहरुमा थोरैमात्र उपलब्धि भएको छ । दोहा राउण्डका विषयहरुलाई निरन्तरता दिने या नदिने भन्ने विषय आफैंमा बहसमा छ । दोहा राउण्डपछिका कतिय मन्त्रिस्तरीय बैठकहरु त बिना कुनै सहमति टुंगिएका थिए । जसले विश्व व्यापार संगठनको प्रभावकारिता र औचित्य माथि नै प्रश्न खडा गरेको थियो । तर सन् २०१३ मा इण्डोनेसियाको राजधानी बालीमा सम्पन्न मन्त्रीस्तरीय सम्मेलनले दोहा राउण्डका मुद्दाहरुमा अतिरिक्त नयाँ मुद्दाहरुमा प्रवेश गरी व्यापार सहजीकरण सम्झौता टुंग्याएको थियो भने सन् २०१५ मा नैरोबीमा सम्पन्न सम्मेलनमा कृषिमा निर्यात सहुलियत, अतिकम विकसित देशका उत्पादनहरुलाई उत्पत्तिको प्रमाणपत्रसम्बन्धमा लचकता लगायत थुप्रै विषयहरुमा सहमति भएको थियो ।
विश्वव्यापार संगठनको यसपटकको सम्मेलनमा इलेक्ट्रोनिक कमर्स, लघु साना तथा मध्यम उद्योगहरुलाई विश्व व्यापारको मूलप्रवाहमा समाहित गराउने विषय तथा सेवा व्यापार सम्झौताको कार्यान्वयन लगायतका विषयहरु सहमतिका लागि प्रवेश गर्ने अपेक्षा गरिएको छ । व्यापारविज्ञ पोषराज पाण्डेका अनुसार, यी विषयहरुमा सहमति गर्दा यसको प्रभावका सम्बन्धमा नेपालले राम्ररी विश्लेषण नगरीसकेको हुँदा यी एजेण्डाहरुलाई सावधानीपूर्वक हेर्नुपर्ने बताउँछन् । विश्व व्यापार संगठनको मन्त्रिस्तरीय सम्मेलन बहुपक्षीय सम्झौताको सबैभन्दा ठूलो नीति निर्माण तह हो ।