विद्युतीय सवारीको प्रयोगमा काठमाडौं महानगरपालिकको जोड
काठमाडौंं, १३ मंसिर । बिद्युतीय सवारी साधनलाई सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानीमा साझेदारी गर्ने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । बिहिबार सुन्दर यातायातका अधिकारीसँगको भेटका क्रममा मेयर शाक्यले यस्तो बताएका हुन ।
साझेदार बन्न चीनको बिवाइडि कम्पनीले इच्छा देखाएको भन्दै उनले अहिले त्यस कम्पनीबाट उत्पादित बसको मुल्य, हाम्रो खरिद गर्न सक्ने क्षमता, यसबाट हुने वातावरणीय तथा आवागमनमा पुग्ने लाभ, बस सञ्चालनका लागि पूर्वाधारका आधारबारे सम्भाव्यता अध्ययन गरिरहेको जानकारी दिए । भेटका क्रममा सुन्दर यातायातलाई विद्युतीय सवारी उपलब्ध गराउने चीनको बिएक कम्पनीका अधिकारी पनि सहभागी थिए ।
सुन्दर यातायातले अबको ६० दिनभित्र, ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका ३ वटा सार्वजनिक बिद्युतीय बस सञ्चालन तयारी गरेको छ । प्रालिका कार्यकारी अध्यक्ष भेषबहादुर थापाले काठमाडौंको सडक र बसको क्षमता जाँच गरिसकेका जानकारी दिदै काठमाडौंको सोह्रखुट्टे उकालोमा चढ्न सक्ने र अहिले बौद्ध क्षेत्रमा भएको खाल्टाखुल्टीमा गुड्न सक्ने बस ल्याउन लागेका जानकारी दिए ।
भेटका क्रममा बिएक कम्पनीका प्रमुख कार्यकारी च्यानलिन लुओलेले बिओडि कम्पनीका बसहरु भन्दा आफ्ना कम्पनीका बसहरु सस्ता र बलिया भएको दाबी गरे ।