सिप प्रमाणीकरणका लागि ढिला नगरौ, यसरी पाइन्छ विदेशबाट फर्किएकाले सहुलियत ऋण
काठमाडौं, १५ मंसिर । वैंदेशिक रोजगारीमागई विदेशमा सिकेको ज्ञान, सिप र दक्षताका आधारमा स्वदेशममै पेसा व्यवसाय गरी उद्यमी बन्न इच्छुकका लागि सरकारले चालु आर्थिक वर्षमा १० लाखसम्म सरल कर्जा दिदै छ । यो वर्ष यसरी उद्यमी बन्नका इच्छुकलाई सरल कर्जामा निजी तथा सरकारी बैंकमार्फत ऋण उपलब्ध गराउनेछ। यसका लागि सरकारले विदेशबाट सीप आर्जन गरेर फर्किएका युवालाई सीप प्रमाणिकरण गर्नका लागि निवेदन दिन आह्वान गर्दै कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ ।
कसरी पाइन्छ सहुलियत ऋण
सरकारले विदेशबाट फर्किएकालाइ सहुलियत ऋण लिनका लागि विदेशमा सिकेको सिप प्रमाणीकारणका लागि आउँदो पुस ११ गतेसम्म सरकारले तोकेको बिभिन्न ठाउँमा आफूसँग भएको सीप प्रमाणिकरणको लागि निवेदन दिनु पर्ने छ । यसका लागि बैदेशिक रोजगारबाट फर्किएको तर तीन बर्ष ननाघेको हुनु पर्ने छ ।
२० वटा पेशाको सरकारले प्रमाणिकरण गर्दैछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले सीप प्रमाणिकरणको जिम्मा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परीक्षण समितिलाई दिएको छ ।
समितिले नै फारम संकलन तथा सीप परीक्षण र प्रमाणिकरण गराउने छ । विदेशबाट सीप सिकेर फर्किएका र सीप परीक्षण गराउन चाहने व्यक्तिले राष्ट्रिय सीप परीक्षण समितिको वेवसाइट तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको वेवसाइटबाट फारम डाउनलोड गरेर आउँदो पुस ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।
समितिबाट यसरी सीप प्रमाणिकरण गराउँदा र फारम भर्दा कुनै पनि शुल्क नलाग्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यसरी सिप प्रमाणी करण गरे पश्चात प्रवृद्धन बोर्डमा सुचीकरण गर्नु पर्ने छ । सुचीकारणका लागि बोर्डको कार्यालयमा आफ्नो ब्यावसायको प्रस्ताब पेश गर्नु पर्ने छ ।
कुन कुन सिप प्रमाणीकरण गर्न सकिन्छ
सरकारले सीप परीक्षण तह १ का लागि २० वटा पेशाको सीप प्रमाणिकरण गर्ने भएको छ ।यसमा विल्डिङ पेन्टर, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट व्युटिसियन, हाउसकिपिङ क्लिनर, रेफ्रिजेरेसन एण्ड एअर कण्डिसन जुनियर मेकानिक्स, एक्साभेटर अपरेटर, फर्निचर मेकर, स्टोन लेयर मेशन डकर्मी, असिस्टेन्ट वेटर र आर्क वेल्डरको सीप समेटिएको छ ।
त्यसैगरी स्टक्चरल फेब्रिकेटर, जुनियर प्लम्बर, विल्डिङ इलेक्ट्रिसियन, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड, स्काप फोल्डर, इन्ड्रस्टियल इलेक्ट्रसियन, कमि तेस्रो र टेलरिङ पेशको सीप प्रमाणिकरण समितिले गर्ने छ ।
सिप प्रमाणीकरणका लागि चाहिने कागजजात
नागरिकताको प्रतिलिपि
पासपोर्टको प्रतिलिपि र स्वदेश फर्किंदा अध्यागमनबाट छाप लागेको पाना समेत बुझाउन पर्नेछ ।
वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने अन्य कागजहरु ।
हालसालै खिचेको पासपोर्ट साइजको फोटोकपी दुई प्रति ।
यो वर्ष एक हजार जनाको सीप परीक्षण हुने सरकारको अनुमान छ । एक हजार जनाभन्दा माथि आवेदन आएमा श्रोतको सुनिश्चितताको पछि मात्रै सीप परीक्षण हुने बोर्डले जनाएको छ ।