आजदेखि मन्ट्रियाल महासन्धि लागू, ६० वर्षपछि बढ्यो विदेशमा हवाई यात्रा गर्ने नेपालीको बीमा रकम
काठमाडौं । नेपालले आजदेखि मन्ट्रियाल महासन्धि लागू गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने नेपाली वायुसेवा कम्पनीहरुले शनिबारदेखि यात्रुको बीमा रकम वृद्धि गर्नुपर्ने भएको छ । यसअघि अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने कम्पनीहरुले यात्रुलाई २० हजार अमेरिकी डलर बराबरको बीमा सुविधा प्रदान गर्दै आएका थिए । आजदेखि यात्रुको बीमांक रकम १ लाख ६९ हजार अमेरिकी डलर बराबर हुनेछ । नेपालले मन्ट्रियाल महासन्धि दिवसको अवसर पारेर आजदेखि यो व्यवस्था लागू गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) का अधिकांश सदस्य देशहरुले मन्ट्रियाल सन्धि लागू गरिसकेका छन् । नेपालको संसद्ले पनि केही महिनाअघि मन्ट्रियाल महासन्धि अनुमोदन गरेको हो ।
आइकाओका सदस्य राष्ट्रहरुको पहलमा सन् १९९९ मा हवाई यात्रुको बीमा रकम वृद्धि गर्ने सहमति अनुरुप महासन्धिमा हस्ताक्षर भए पनि नेपालले भने लामो समयपछि यसलाई अनुमोदन गरेको हो । यसअघि विदेशमा उडान गर्ने नेपाली वायुसेवा कम्पनीहरुले सन् १९२९ को वार्सा महासन्धि अनुसार अन्तर्राष्ट्रिय हवाई यात्रुलाई २० हजार अमेरिकी डलरको बीमा सुविधा दिदैं आएका थिए ।
शनिबारदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गरिरहेका नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा बुद्ध एयर (अन्तर्राष्ट्रिय उडान) मा यो व्यवस्था लागू हुनेछ । आन्तरिक उडानमा भने मन्ट्रियाल सन्धि आकर्षित हुँदैन । यद्यपि अष्ट्रेलिया लगायत केही देशले आन्तरिक उडानमा पनि यात्रुबीमा मन्ट्रियाल सरह गर्दै आएका छन् ।