यस साता नेप्सेमा १अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार
काठमाडौं, २९ मंसिर । यस साता नेपाल स्टक एक्चेन्ज (नेप्से) मा १अर्ब ६३ करोड भन्दा बढीको सेयर कारोबार भएको छ । कारोवार रकम गत साताको भन्दा कम हो । गत साता रु दुई अर्ब २२ करोड ३५ लाख ६८ हजार २२६ बराबरको शेयर कारोवार भएको थियो ।
साताको पहिलो दिन आइतबार १,१३१.०७ शून्य विन्दुमा रहेको नेप्से परिसूचक १७ विन्दुले वृद्धि भई साताको अन्तिम दिन बिहीबारसम्म एक हजार १४८.७८ बिन्दुमा पुगेको छ ।
साताभर कूल १६४ कम्पनीको शेयर कारोवार भएको छ । आइतबार कारोवार नेप्से परिसूचक १०.८५ विन्दुले बढेर १,१३१.०७ विन्दुमा पुगेको थियो । सो दिन कूल १५५ कम्पनीको ७,१४,६१८ कित्ता सेयर खरिद बिक्री हुँदा रु २२ करोड भन्दा बढीको कारोबार भयो ।
यस्तै सोमबार शेयरबजार १२.४९ विन्दुले वृद्धि भई १,१४४.१९ विन्दुमा पुग्दा १६३ कम्पनीको १२,६४,३४० कित्ता सेयर रु ४३ करोड भन्दा बढीमा कारोबार भएको थियो ।
आइतबार र सोमबार बढेको शेयरबजार मङ्गलबार भने ३.०८ विन्दुले घटेर १,१४१.१० विन्दुमा झर्यो। सो दिन कूल १६४ कम्पनीको १२,८६,५७५ कित्ता सेयर रु ३८ करोड भन्दा बढी मूल्यमा खरीद बिक्री भए ।
बुधबार भने बजार स्थिर जस्तै रह्यो । कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर १,१४१.१८ विन्दुमा कायम रह्यो । कूल १५६ कम्पनीको ८,६५,७१९ कित्ता शेयर रु २६ करोड ८८ लाख १० हजार ८२४ मूल्यमा खरीद बिक्री भए ।
यस्तै साताको अन्तिम दिन बिहीबार कारोवार मापक नेप्से परिसूचक ७.६ विन्दुले बढेर १,१४८.७८ विन्दुमा पुग्यो । सो दिन कूल १५४ कम्पनीको ९,९७,६७२ कित्ता शेयर रु ३२ करोड ३७ लाख ५८ हजार ७४ मूल्यमा खरिद बिक्री भए ।
शेयर बजारको सुधारको माग गर्दै शेयरलगानीकर्ताले आन्दोलन पनि जारी राखेका थिए । यद्यपि शुक्रबार सरकारले गठन गरेको कार्यदलले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ ।