Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दोहा बैंकको प्रतिनिधि कार्यालय खुल्यो, ग्लोबलसँग सम्झौता

दोहा बैंकको प्रतिनिधि कार्यालय खुल्यो, ग्लोबलसँग सम्झौता

काठमाडौं, ५ पुस । कतारको दोहा बैंकले नेपालमा प्रतिनिधि कार्यालय स्थापना गरेको छ । बैंकले रेमिट्यान्स सेवा, एलसी तथा ग्यारेन्टी, नेपाली बैंकहरुलाई ट्रेजरी विल्स, सरकारी ऋणपत्रमा लगानी तथा विदेशी मुद्रा निक्षेप सुविधा प्रदान गर्ने बताइएको छ ।
यसका साथै नेपाल र कतारबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनमा सहयोग गर्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर सीथारमण प्रतिनिधि कार्यालय स्थापनासँगै ग्लोबल आईएमई बैंकसँग द्रुत रेमिट्यान्स सेवा सम्बन्धि सम्झौताका लागि नेपाल आएका छन् । सीथारमणले नेपालमा प्रतिनिधि कार्यालय स्थापना भएसँगै द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनमा सहयोग पुग्ने उल्लेख गरे ।
नेपाली वित्त बजारलाई राम्रोसँग अनुभव गरिसकेपछि दोहा बैंकले दीर्घकालमा नेपालमा शाखा खोलेरै सेवा दिन सक्ने बैंकका नेपाल प्रतिनिधि सुरज शाहीले बताए ।
दोहा बैंकको कतारबाहेक भारत, कुवेत, संयुक्त अरब इमिरेट्समा शाखा कार्यालयहरु छन् । बेलायत, जर्मनी, टर्की, सिंगापुर, चीन, दक्षिण कोरिया, हङकङ, जापान, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका, बंगलादेशमा प्रतिनिधि कार्यालय छन् । नेपाली बैंकहरुले आफूसँग रहेको विदेशी विनिमय सञ्चितिलाई बाह्य देशहरुमा सरकारी ऋणपत्रमा लगानी गरिरहेका छन् । दोहा बैंक्ले यस्तो लगानीलाई पनि सहजीकरण गर्नेछ । दोहा बैंकको वित्तिय विवरणको आकार २४ अर्ब ८० करोड अमेरिकी डलरको छ ।
दोहा बैंकलाई बेलायतको दि ब्यांकर म्यागेजिनले सन् २०१७ मा उत्कृष्ट क्षेत्रीय वाणिज्य बैंकको अवार्ड दिएको छ । त्यस्तै, क्रेडिट रेटिङ कम्पनी मुडिजबाट ए२ रेटिङ, फिट्च रेटिङले ए प्लस रेटिङ दिएको छ ।

ग्लोबल आइएमईसँग सम्झौता

ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंक बीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरेका छन् ।
दोहा बैंक, कतारमा रहेका बैंकहरुमध्येको अग्रणी स्थानमा रहेको बैंक हो । जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन । रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंक लि.का सम्पूर्ण शाखाहरु तथा आई. एम. ई. र जि. एम. इ. का ९००० भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x