५६ लाख टन धान फल्यो
काठमाडौं । यो वर्ष अहिलेसम्मकै बढी धान उत्पादन भएको छ । कृषि विकास तथा पशुपंक्षी मन्त्रालयका अनुसार ५६ लाख १० हजार टन धान उत्पादन भएर यो वर्ष धानको उत्पादनले सबै रेकर्ड तोडेको छ ।
गत वर्ष ५१ लाख ५१ हजार टन धान उत्पादन भएको थियो । धानको उत्पादनसँगै प्रतिहेक्टर क्षेत्रफलमा हुने उत्पादन पनि बढेको छ । प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी धान उत्पादन गर्नेमा प्रदेश २, प्रदेश १ र प्रदेश ५ छन् । बढी धान फल्ने तराईका जिल्लाहरु यी प्रदेशमा पर्ने भएकाले यहाँ उत्पादन बढी देखिएको हो । प्रदेश १ को झापा जिल्लालाई धानको सुपर जोन (विशेष उत्पादन) क्षेत्र घोषणा गरिएको छ ।