आगामी चैत १५ र १६ गते लगानी सम्मेलन
काठमाडौं, १३ पुस । सरकारले आगामी चैत १५ र १६ गते राजधानी काठमाडौंमा लगानी सम्मेलन गर्ने भएको छ ।
नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सरकारले लगानी सम्मेनलन गर्ने भएको हो । सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ ।
अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड नेपालको सक्रियतामा हुने उक्त सम्मेलनमा नेपालमा लगानीका अवसरका साथै आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने प्रयास हुनेछ ।
विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुनेछ ।
सम्मेलनमा देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराइने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।