१ वर्षमा सेयर बजारमा ३१२ अंकको गिरावट
काठमाडौं, ४ फागुन । प्रधामन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएकोे शुक्रबार १ बर्ष पुरा भएको छ । निर्वाचनमा बाम गठबन्धनले बहुमत पाएसँगै सेयर बजारमा केही गिरावट आएको थियो । त्यसलाई कतिपयले सेयर बजारले बाम गठबन्धनलाई रुचाएन सम्म भन्न भ्याए ।
तर प्रधानमन्त्री बन्नु अगावै गरिएको त्यो टिप्पणीलाई ओलीले कटाक्ष गर्दै, बाम सरकारले सेयर बजार र मुलुकको अर्थतन्त्रको मुहारमा परिवर्तन ल्याउने दाबी गर्दै झापा पुगेर भाषण गरे ।
फागुन ३ गते ओली प्रधानमन्त्री बने त्यो दिन सेयर बजार ३६ अंकले बढ्यो । सो दिन सेयर बजारले बाम गठबन्धनलाई स्वागत गर्यो भनेर चर्चा गरियो । त्यसको भोलीपल्ट बजार ११ अंकले घट्यो । सामान्य घटबढ सेयर बजारको नियम नै हो । तर निरन्तर घट्नु र ठुलो अंकले घट्नुलाई भने अस्वभाविक रुपमा हेर्ने गरिएको छ ।
सरकार गठन भएपछिको यो एक वर्षको अवधीमा सेयर बजारमा ३१२.०९ ले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । ओली प्रधानमन्त्री भएको दिन १४२४.९५ बिन्दुमा रहेको नेप्से एकवर्षपछि (गत बिहिबार) १११२.८७ बिन्दुमा झरेको छ ।
१ बर्षको अवधीमा बजार निरन्तर ओरालो लागेपछि बजार सुधारको माग गर्दै लगानीकर्ताले सरकार विरुद्ध आन्दोलन समेत गरे । यो बीचमा बजारमा अनलाईन कारोबारको सुरुवात, बैंकहरुलाई ब्रोकर लाईसेन्सको व्यवस्था, ब्रोकर कम्पनीहरुको कार्यक्षेत्र विस्तारसंगै मार्जिन टे«डिङ लगायत विभिन्न मागका सरकारले सम्बोधनको प्रयास गरेको छ ।
बजारमा सुरु गरिएको अनलाईन प्रणालीमा देखिएको समस्या सुल्झिन नपाउदै पुन स्थायी लेखा नम्बर (प्यान) लागु गर्ने विषयमा नियामक निकाय र लगानीकर्ताहरु बीच मनमुटाव जारी छ ।