तराईमा आज होली हर्षोल्लासपूर्वक मनाईदै
काठमाडौं, ७ चैत । रंगहरुको पर्व होली आज तराईका जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाईदैछ । फागुन पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा हिजो मनाईएपनि तराईका जिल्लामा भने आज मात्र मनाउने प्रचलन रहेको छ ।
होलीलाई मेलमिलाप र सद्भावको पर्वका रुपमा लिने गरिन्छ । एकआपसमा सद्भावपूर्वक रंग, अबिर लगाएर खुशी साटासाट गर्दै यो पर्व मनाउने गरिन्छ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्व समेत मानिएको होली एक प्राचीन पर्व हो । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो ।
प्राचीन ग्रन्थमा यसको चर्चा वसन्त महोत्सव र काम महोत्सवका रूपमा गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रशरङ्गले तरङ्गीत तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्व पनि हो ।