पर्यटन लगानी सम्मेलन आयोजना गर्न केशर महलमा नेपाल भ्रमण वर्षको सचिवालय
काठमाडौं, ३ बैशाख । भ्रमण बर्ष २०२० लाइ सफल बनाउने उदेश्यसाथ पर्यटन लगानी सम्मेलन आयोजना गर्न राणाकालीन दरबार केशरमहलमा नेपाल भ्रमण वर्षको सचिवालय स्थापना गरिएको छ । भ्रमण बर्षकालागि आवश्यक अभियानहरु संचालनको केन्द्र रहने गरी गोरखा भूकम्पबाट सामान्य क्षति पुगेको उक्त भवनको मर्मत गरी सचिवालय बनाइएको हो ।
सचिवालयले ‘नेपाल टुरिजम एक्ससिलेन्स अवार्ड’, सम्पदा दिवस मनाउने र २० देखि ३० हजार स्वदेशी र विदेशी पर्यटकलाई सम्पदा भ्रमण गराउने, सातवटै प्रदेशमा पर्यटन प्रवद्धनका लागि लगानी भित्र्याउन आगामी अक्टोबर महीनामा पर्यटन लगानी सम्मेलन आयोजना गर्ने छ । नेपाल पर्यटन बोर्डको विवरणमा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को दुई महीना जनवरी र फेब्रुरीमा मात्रै दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका छन् ।