कलंकी मालपोत कार्यालय अवको १० दिन पछि ‘डिजिटल मालपोत’ मा रुपान्तरण
काठमाडौं, ८ वैशाख । कलंकी स्थित मालपोत कार्यालय १० दिन भित्र ‘डिजिटल मालपोत’ कार्यालयमा रुपान्तरण हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले डिजिटल मालपोतलाई आवश्यक पर्ने सम्पूर्ण प्राविधि जडान गरि १० दिन भित्र कार्यालयलाई हस्तान्तरण गर्ने जनाइएको छ ।
गत चैत ३ गते कलंकी मालपोत कार्यालयलाई डिजिटल मालपोतका रुपमा विकास गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले घोषण गरेकी थिइन् । उक्त घोषणासँगै विभागले काम थालेको थियो । विभागबाट खटिएका कर्मचारी होम भुसालका अनुसार विभागले पाएको जिम्मेवारी अवको १० दिन भित्र सम्पन्न गरी कार्यालयलाई हस्तान्तरण गरिने छ ।
डिजिटल मालपोतको सुरुवात भएपछि सेवाग्राहीहरुले एउटा काममा घण्टौ समय खर्च गर्नु नपर्ने कलंकी मालपोत कार्यालयका प्रवक्ता पुर्ण बहादुर केसीले अर्थकोअर्थलाई बताए । उनका अनुसार सोधपुछ शाखामा नै सबै कुराको जानकारी दिइने व्यवस्था मिलाईने छ । त्यहीबाट के–के कागजपत्र आवश्यक पर्ने भन्ने विषयमा जानकारी दिइने छ । त्यसले सेवाग्राहीहरुलाई झन्झट नहुँने प्रवक्ता केसीको भनाई छ । उनी भन्छन्–‘सोधपुछमा सबै कुरा बुझेर सम्बन्धित शाखामा सम्पूर्ण कागजात लिएर आए सामान्य कामको लागि १० मिनेट पनि सेवाग्राहीले कुर्नु पर्दैछ । यो डिजिटल मालपोतले सेवाग्राहीमा खुशी ल्याउनुँका साथै कर्मचारीलाई काम गर्न पनि सहज हुने छ ।’
मालपोत कार्यालयमा भ्रष्टाचार कम गर्न र सेवाग्राहीहरुलाई छिटो सेवा दिन डिजिटल प्रविधि उपयुक्त हुने मन्त्रालयको ठहर छ । कलंकी मालपोत कार्यालयलाई डिजिटल प्रविधिमा रुपान्तरण गरेसँगै देशभरका मालपोत कार्यालयलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने योजना मन्त्रालयको रहेको छ ।