हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण जुन ६ देखि ९ सम्म
काठमाडौं, ८ बैशाख । हिमालयन ट्राभल मार्टको तेस्रा संस्करण आगामी जुन ६ देखि ९ सम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने भएको छ । नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसिक पर्यटनको केन्द्र एवं सबल पर्यटनमैत्री गन्तब्यको रुपमा विश्व सामु स्थापित गर्ने उद्देश्यका मार्ट आयोजना लागिएको हो ।
सरकार र नीजि संघ संस्थासँगको सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले सन २०१७ देखि मार्ट आयोजना गर्दै आएको छ। पाटाका अध्यक्ष सुनिल शाक्यले हिमालयन ट्राभल मार्टले यस अघि सम्पन्न गरेको दुई संस्करणहरु सफल भएको हुँदा सो मार्ट आयोजना गरिएका र यसले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको बताए । यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनमा सहयोग लाई विश्व सामु चिनाउन पुगेको बताए ।
हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा विश्वब्यापी क्रेताहरुलाई एउटै मञ्चमा भेला गराई उनीहरुबीच ब्यापार आदान–प्रदान तथा सम्बन्ध संञ्जाल विस्तारको उद्देश्यले पाटा नेपाल च्याप्टरद्धारा यस विजनेस–टु–विजनेस मार्टको परिल्पपना गरिएको हो । हिमालयन ट्राभल मार्टको दास्रो संस्करणमा हिमालयन राष्ट्रहरु बाहेकपनि युएई, भियतनाम र कोरिया जस्ता राष्ट्रहरुले विक्रेताको रुपमा सहभागिता जनाएका थिए । यो पटकको मार्टमा नेपाल, भारत, पाकिस्तान, तिब्वत चीन र भुटान लगायत हिमालयन राष्ट्रहरुबाट विक्रेताहरु तथा युरोप, अमेरीका, अष्टे«लिया, न्यूजिल्याड, रसिया तथा सि.आई.एस. राष्ट्रहरु, एशिया र अरब राष्ट्रका क्रेताहरुको सहभागी हुने जनाइएको छ ।
यस अघि सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु,सन् २०१८ मा सम्पन्न भएको मेलामा ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको पाटा नेपाल च्याप्टरले जानकारी दिएको छ ।