Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सुदूरपश्चिम प्रदेश कृषिजन्य उपजमा आत्मनिर्भर

सुदूरपश्चिम प्रदेश कृषिजन्य उपजमा आत्मनिर्भर

धनगढी, १५ बैशाख । सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले आयात प्रतिस्थापनका लागि कृषिजन्य उपजमा आत्मनिर्भर हुन आवश्यक रहेको बताएकी छिन् । मन्त्रालयले धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यक्रममा उनले सबैले चाहेमा धेरै चिजमा आत्मनिर्भर हुन सकिने उल्लेख गरिन् ।

‘हामी खाद्यान्न, माछामासु, दूध, फलफूल लगायत धेरै चिजमा आत्मनिर्भर हुन सक्छौं’, मन्त्री चौधरीले भनिन–‘आत्मनिर्भर भएर आयात रोक्ने मन्त्रालयको लक्ष्य छ ।’ उक्त मन्त्रालयले प्रदेशलाई कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि पञ्चवर्षीय रणनीति तयार पार्दैछ । पाँच वर्षमा केरा, माछा, दूध लगायतमा आत्मनिर्भर हुन सक्ने अवस्था रहेको मन्त्री चौधरीले बताइन् । कैलाली, कञ्चनपुरमा धान र गहुँको उत्पादन व्यापक मात्रामा हुने गरेको छ । यी दुई जिल्लाको उत्पादनले प्रदेशको खाद्य मागलाई धान्न सक्ने मन्त्रीको दाबी छ । यही अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले नीति, नियम पनि बनाउने उनले बताइन् ।

यसैगरी, आलु खेतीलाई पनि प्राथमिकता दिएको जनाउँदै मन्त्री चौधरीले बाहिरबाट आयात रोक्नका लागि आलुको उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताइन् । उनले यो वर्ष १८ वटा पकेट क्षेत्र बनाएर थारु आलुको खेती गरिएको र उत्पादन पनि बढेको उल्लेख गरिन् । सुदूरपश्चिम प्रदेशभरी तीन लाख ७६ हजार ३३३ हेक्टर जमिन खेती योग्य रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये एक लाख ८२ हजार ८०२ हेक्टर जमिन सिंचिंत रहेको जनाइएको छ । प्रदेशको केही जिल्ला खास कृषि वस्तु उत्पादनमा पहिचान बनाउन सफल भएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए ।

उनका अनुसार डडेल्धुरा ताजा तरकारी, मह, मौसम, ओखर, आल्चा, चुक, भटमास, मकै, मकै र तरकारीको बीउ, रामदाना उत्पादनमा अगाडि छ । यसैगरी, डोटीमा अदुवा, भटमास, जोरायली बासमती, मुगफली, सुन्तला, चुक, रामदाना, बैतडीमा भटमास, मह, आलु, ओखर, रामदाना बढी उत्पादन हुने गरेको छ । बझाङमा आलु, ओखर, रामदाना, दार्चुलामा ओखर, राजमा, आलु भटमास बढी उत्पादन हुने गर्दछ । यसैगरी, कैलाली धान, गहुँ, मसुरो, सुन्तला, माछा, ताजा तरकारी, मह, खाद्यान्न बीउ, बेसार, अदुवा, केरा उत्पादनमा सबल छ । यस्तै, कञ्चनपुरमा धान, गहुँ, केरा, बगर तरकारी, माछा, उखु उत्पादन बढी हुने गरेको छ ।

बसाइँसराइँले तराईको कृषि योग्य जमिन खण्डित र पहाडको जमिन बाँझो भइरहेकाले पञ्चवर्षीय रणनीति बनाएर कृषि कार्यलाई अगाडि बढाइने वरिष्ठ कृषि विकास अधिकृत जोशीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x