साधारण सभाको चटारो, स्ट्यान्डर्ड चार्टर्डलगायत पाँच संस्था साधारण सभा गर्दै
काठमाडौं, ६ पौष । स्ट्यान्डर्ड चार्टर्ड बैंक, गरिमा विकास बैंक, नेपाल ग्रामीण विकास बैंक, नेरुडे लघुवित्त विकास बैंक र डिप्रोक्स लघुवित्त विकास बैंकले साधारण सभा बोलाएको छ ।
एफपीओ गरेर पुँजी वृद्धि गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकले एफपीओ रिजर्भ र गत वर्षको मुनाफाबाट लगानीकर्तालाई शत प्रतिशत बोनस प्रस्ताव गर्दै सो लाभांश पारित गर्न पौष २६ गते ३१ औं वार्षिक साधारण सभा डोकेको छ । साधारण सभाले शतप्रतिशत बोनसका साथै कर प्रयोजनका प्रतिसेयर पाँच रुपैयाँ छब्बिस पैसाको दरले नगद लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने तथा साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ । हाल बैंकको चुक्ता पूँजी चार अर्ब ५७ लाख रुपैयाँ छ । शतप्रतिशत बोनसपछि बैंकको पूँजी आठ अर्ब एक करोड नाघ्नेछ । बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ४८ करोड २५ लाख ३१ हजार रुपैया खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी वार्षिक ४८ रुपैया १८ पैसा कायम गरेको छ ।
त्यसैगरी गरिमा विकास बैंकले पौष २८ गते एघारौं वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभाबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ। साधारणसभाले दुईजना सर्वसाधारण समुहको तर्फबाट संचालक सदस्य निर्वा्चित गर्ने भएको छ। बैंकले साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।
त्यस्तै डिप्रोक्स लघुवित्त विकास बैंकले पौष २७ गते सोह्रौ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले साधारणसभाबाट हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ। साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट तीन जना संचालको निर्वाचन गर्ने भएको छ। साधारणसभा प्रयोजनकालागि पुष १४ देखि २७ गतेसम्म बुक क्लोज हुने भएको छ।
त्यसैगरी नेपाल ग्रामीण विकास बैंकले पुष २८ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। बैंकले साधारणसभाबाट नेपाल ग्रामीण विकास बैंकको नाम र ठेगाना परिवर्तनकालागि प्रवन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने जनाएको छ। साथै बैंकले साधारणसभा प्रयोजनको लागि पुष १२ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ।
नेरुडे लघुवित्त विकास बैंकले पुष २९ गते एघारौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले साधारणसभाबाट हाल कायम भएको चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ। बैंकले साधारणसभाबाट सर्वसाधारण समुहको तर्फबाट दुई जना संचालनको निर्वाचन गर्ने भएको छ। बैंकले साधारणसभा प्रयोजनको लागि पुष ९ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ।