घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, स्वदेशी वस्तुमा आत्मनिर्भर हुने संकेत
काठमाडौं १७ जेठ । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले प्रस्तुत गरेको आगामी बजेटको स्वागत गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तुत गरेको बजेटमा स्वदेशी वस्तु उपभोगलाई प्राथमिकता दिएको भन्दै महासंघले स्वागत गरेको हो ।
बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको महासंघले जनाएको छ । आयात कम गर्न र आत्मनिर्भर हुनका लागि स्वदेशी वस्तुको उपयोगलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मागलाई आंशिक भएपनि बजेटले समेटेको जनाइएको छ । सरकारले कपास, रेशम, ऊन र बनस्पतिजन्य रेशा–केरा, बाँस, अल्लोबाट कपडा बुन्ने उद्योगलाई प्रोत्साहित गरिने घोषणा गरेको छ । सरकारको यस्तो घोषणासँगै महासंघले सकारात्मक टिप्पणी गरेको छ ।
स्वदेशी कपडा उद्योगलाई विद्युत महशुलमा दिने ५० प्रतिशत छुट र बैकिङ्ग कर्जाको व्याजमा दिने पाँच प्रतिशत ब्याज अनुदानले आगामी दिनमा कपडाको आयातलाई निरुत्साहित गर्ने र आत्मनिर्भर हुनेतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।