नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौ, २३ जेठ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर ७.१ प्रतिशतले विस्तारित हुने प्रक्षेपण गरेको छ। कमजोरी सरकारी खर्च, बजार संरचनामा सिन्डिकेट तथा बढ्दो ब्यापार घाटाका बाबजुद पनि पर्यटक आगमनमा भएको वृद्धि , निजी लगानीमा भएको विस्तार तथा बिजुली आपूर्ति सहज लगायतका कारण उच्च आर्थिक बृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो ।
विश्व बैंकले प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ । चालु वर्ष पनि नेपालको निर्यात व्यापार सुधार नभएकाले व्यापार घाटा फराकिलो बन्दै गएपनि आयातमा उपभोग्य वस्तुको तुलनामा औद्योगिक आयात बढेकाले सकारात्मक गतिमा अर्थतन्त्र बढेको बताइएको छ।
त्यस्तै बैंकले नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गर्दैै मूल्यवृद्धि भने ४.१ प्रतिशत हुने अनुमान गरेको छ । सो कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको दीगो विकासका लागि तीब्र गतिमा काम गर्नुपर्ने बताए । दोहोरो अंकको आर्थिक बृद्धिको लक्ष्य हाँसिल गर्न पनि दीगो विकास आवश्यक रहेको उनको भनाई थियो ।
एकअर्को प्रसंगमा उनले फराकिलो हुँदै गएको व्यापार घाटाबाट धेरै चिन्तित हुनु पर्ने कारण नभएको भन्दै देशमा आर्थिक गतिविधिमा भएको विस्तारले आयात बढेको र त्यस्तो आयातको मूल्य केही समयपछि देशले पाउने विश्व व्यक्त गरे ।