जीवन बिमा कम्पनीले गरे ४७ करोड ६७ लाखको लघुबिमा व्यवसाय
काठमाडौं, २१ साउन । जीवन बिमा कम्पनीहरुले ४७ करोड ६७ लाख रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार जीवन बिमा कम्पनीहरुले गत आर्थिक बर्ष २०७५÷७६ को तेस्रो त्रैमास अवधिमा उक्त रकम बराबरको लघुबिमा व्यवसाय गरेका हुन् । यो रकम कुल बिमा व्यवसायको करिब एक प्रतिशत मात्रै हो ।
न्युन आय भएका जनतामा बिमाको पहुँच पुराउँन बिमा समितिले लघुबिमा योजना सञ्चालनमा ल्याएको हो । थोरै मूल्यमा खरिद गर्न सकिने यो बिमाले न्यून बर्गलाई समेट्न सकिने बिमा समितिको विश्वास रहेको छ । कम्पनीले नेपाल बिमक संघको व्यवस्थापनमा लघुबिमा पुल नै सञ्चालन गरी लघुबिमा व्यवसाय गर्दै आएका छन् । त्यसैगरी कम्पनीले आफैले पनि यस्तो व्यवसाय गर्दै आएका छन् ।
समितिको तथ्यांक अनुसार गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीहरुले ५८ लाख १८ हजार ६ सय ५५ वटा बिमालेख जारी गरेका छन् । जसमध्ये लघुबिमा लेखको संख्या ६ लाख ७१ हजार १४४ रहेको छ । यो संख्या कुल व्यवसायको ११ दशमलव ५३ प्रतिशत हो ।
लघुबिमालाई व्यापक बनाउँन अर्थमन्त्रालयले नै कम्पनीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले गत आवको बजेट मार्फत कम्पनीहरुलाई आफनो कुल बिमा व्यवसायको १० प्रतिशत लघुबिमा व्यवसाय गर्न निर्देशन दिएको छ । व्यवसाय हिस्साको आधारमा मेटलाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी लघुबिमा व्यवसाय गरेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमास अवधिमा ३ अर्ब ६ करोड बिमा व्यवसाय गरेको छ । जसमध्ये २६ करोड ३८ लाख रुपैयाँ बराबरको लघुबिमा व्यवसाय गरेकोे छ । यो रकम कुल बिमा व्यवसायको ८ दशमलव ६० प्रतिशत हो ।
त्यस्तै सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले कुल बिमा व्यवसायको ४ दशमलव ४२ प्रतिशत लघुबिमा व्यवसाय गरेको छ । उक्त अवधिमा कम्पनीले १ अर्ब ५४ करोड रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको छ । जसमध्ये ६ करोड ८३ लाख रुपैयाँ बराबरको ल्घुबिमा व्यवसाय गरेको छ । प्रभू लाईफ इन्स्योरेन्सको लघुबिमा व्यवसाय हिस्सा भने ३ दशमलव शून्य ६ प्रतिशत छ । कम्पनीले सो अवधिमा २५ करोड ३५ लाख रुपैयाँ बराबरको बिमा व्यवसाय गरेको छ । जसमध्ये ७७ लाख ६३ हजार रुपैयाँ लघुबिमा व्यवसाय गरेको छ ।