बैंकको सिइओलाई उमेर हद लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं,२९ साउन । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने नेपाल राष्ट्र बैंकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिट निवेदनको सुनुवाइपछि प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सो निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलनको दृष्टिकोणसमेतका आधारमा विपक्षी बैंकको मिति २०७६/०४/२० को एकीकृत निर्देशनको क्रम सङ्ख्या ११ (२) मा भएको ‘संशोधन-परिमार्जन-नयाँ थप व्यवस्था’ कार्यान्वयन नगर्नु नगराउनु।‘ सर्वोच्च अदाललते उक्त निर्णय यथास्थितिमा राख्नुका साथै प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका निर्णय कार्यान्वयन नगर्न भनेको छ। राष्ट्र बैंकले अन्य बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको अधिकतम उमेर हद तोकेको थियो। चार वर्षे कार्यकालका लागि पुनर्नियुक्ति पाएको चार दिनमै राष्ट्र बैंकले उमेर हद तोकेपछि प्राइमका प्रमुख कार्यकारी अधिकृत मानन्धर पदमुक्त भएका थिए।