ठूला करदाता कार्यालयबाट लक्ष्य भन्दा ४० अर्ब कम राजस्व संकलन

काठमाडौं,२९ साउन । गत आर्थिक वर्ष २०७५।०७६ मा ठूला करदाता कार्यालयले लक्ष्य भन्दा ४० अर्ब ६ करोड कम राजस्व संकलन गरेको छ । गत बर्ष कुल २ खर्ब ३ अर्ब ३१ करोड राजस्व संकलनको लक्ष्य लिएको भएपनि जम्मा १ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको छ । अर्थमन्त्रालयका अनुशार आयकरबाट १ खर्ब १८ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ भने मूल्य अभिवृद्धिकर भ्याटबाट ४४ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
यसै गरी ठूला करदाता कार्यालयका अनुसार गत आवमा स्वदेशी करदाताहरूको तुलनामा बहुराष्ट्रिय कम्पनीहरूबाट उठ्नुपर्ने राजस्वको दरमा गिरावट आएको छ । दूरसञ्चार सेवामा अन्तर्राष्ट्रिय रूपमा नै कारोबारमा गिरावट आएकाले यस वर्ष दुवै ठूला दूरसञ्चार कम्पनीको आयमा करिब १२ प्रतिशतले गिरावट आएको छ । यी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब रुपैयाँ राजस्व बुझाउनुपर्ने थियो । तर, एनसेलबाट करिब ३ अर्ब रुपैयाँ मात्र राजस्व प्राप्त भएको थियो । जुन गत आवको भन्दा पनि निकै न्यून हो । एनसेलले कर बुझाउने ठूला करदाता कार्यालयलाई ४५ प्रतिशत राजस्वको लक्ष्य बढाइएको थियो । अहिले ठूला करदाता कार्यालयले एनसेलको राजस्व राष्ट्रिय मुद्दामा गएकाले उठाउन नसकिएको जनाएको छ । लक्ष्यअनुरूप राजस्व संकलन हुन नसक्नुको मुख्य कारण आयातमा आधारित मुलुकको अर्थतन्त्र, रेमिट्यान्समा देखिएको गिरावट, अर्थतन्त्रको निश्चित अवस्था विश्रलेषण गरिएको छ । अपेक्षाकृत रूपमा उद्योग कलकारखानाको संख्या वृद्धि हुन नसक्नुका कारण पनि राजस्व संकलनमा कमी बताइएको छ ।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो साउनदेखि जेठसम्मको तथ्याङ्कअनुसार मुद्रास्फीति ४.५ प्रतिशत कायम छ । त्यस्तै देशको समग्र शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपियाँ घाटामा छ । अघिल्लो आवमा व्यापार घाटा भने १३ खर्ब २० अर्ब रुपियाँको हाराहारीमा पुगेको थियो । त्यस्तै जेठसम्मको तथ्याङ्कअनुसार करिब ८ महिनाको वस्तु तथा सेवाको आयातलाई पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ । जेठसम्म विपे्रषणका रूपमा करिब आठ खर्ब रुपियाँ नेपाल भित्रिएको विवरण पनि अर्थ मन्त्रालयले उल्लेख गरेको छ । गत आर्थिक बृद्धिदर भने ७ दशमल ०५ प्रतिशतमा रहेको छ ।