मुलुकभर ३४ हजार ८ सय ३७ सहकारी संचालनमा, ५ बर्षभित्रमा संख्या आधा घटाउने सरकारी तयारी
काठमाडौं, ७ भदौ । बैक तथा बिमा कम्पनी मर्जरमा जाने प्रक्रिया सुरु हुन नपाउँदै सहकारी संस्थाहरु भने मर्जरमा जान थालेका छन् । पछिल्लो ६ महिनाको अवधिमा ५० वटा सहकारी मर्जरमा गईसकेका छन् । सहकारी विभागका अनुसार पछिल्लो समय स्थानिय निकायमा सहकारीहरु मर्जरमा जाने क्रम बढ्न थालेको छ ।
सहकारी ऐन २०७४ का सहकारी एकीकरणको व्यवस्था गरिएको छ । जस अनुसार दुई वा दुईभन्दा बढी सहकारी संस्था एकीकरण गर्न सक्नेछन् । सहकारीलाई एकीकरणमा जान सहज होस भनी सरकारले सहकारी एकीकरण कार्यविधि २०७० समेत जारी गरेको छ । पछिल्लो समयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारीको मर्जरलाई प्राथमिकतामा राखेको छ । आगामी पाँच बर्षभित्रमा सहकारीको संख्या आधाले घटाईने सहकारी मन्त्री पद्मा कुमारी अर्यालले बताइसकेकी छिन् । एक कार्यक्रममा उनले सहकारीहरु मर्जरमा जान कस्तो खालको सुविधा चाहिन्छ, त्यो वातावरण बनाउँन तयार रहेको तर, नेपाली सहकारी क्षेत्रको सबलीकरणका लागि मर्जरमा आवश्यकता रहेको बताएकी छिन् ।
उसो त राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशब बडालले भने नेपालमा ५ हजार सहकारी भए पुग्ने बताउँछन् । यसका लागि सरकारले आवश्यक सेवा सुविधा दिनुपर्ने उनले बताए । हाल नेपालमा ३४ हजार ८ सय ३७ सहकारी छन् । सहकारीले ३ खर्बभन्दा बढी निक्षेप संकलन गरी २ खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन्।